मोतीपुरमा जुन उद्देश्यले औद्योगिक क्षेत्रको विकास गर्न खोजिएको थियो त्यसतर्फ हेलचेक्रयाइँ नगरियोस् : विष्णु पौडेल

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १५ : ३४
मोतीपुरमा जुन उद्देश्यले औद्योगिक क्षेत्रको विकास गर्न खोजिएको थियो त्यसतर्फ हेलचेक्रयाइँ नगरियोस् : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले मोतीपुरमा औद्योगिक क्षेत्रको विकासमा हेलचेक्रयाइँ नगर्न सरकारलाई आग्रह गरेका छन् । 

शनिबार बुटवलमा आयोजित रुपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र लगायत रुपन्देहीका महत्वपूर्ण विकास आयोजनामा वर्तमान सरकारको उदासिनता रहेको बताए।

‘गौतमबुद्ध विमानस्थलको पहिलो चरणको काम सम्पन्न भएसँगै दोस्रो चरणको कामको लागि यसअघि नै प्रक्रिया अगाडि बढेकोमा अहिले उक्त प्रक्रिया रोकिएको छ, दोस्रो चरणको कामलाई सरकारले कुनै अलमल नगरी अविलम्ब अगाडि बढाओस्’ पौडेलले भने।

पौडेलले गौतमबुद्ध विमानस्थल रुपन्देही तथा लुम्बिनी प्रदेशको मात्र नभई राष्ट्रकै गौरवको आयोजनाा भएकोले यसको निर्माणमा कुनै अलमल नगर्न सरकारलाई आग्रह गरे।

उनले सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि आफ्नो पहलमा टेण्डर आह्वान भइसकेको उल्लेख गर्दै योग्य र सक्षम कम्पनी छनोट गरेर सुरुङमार्ग निर्माणको काम पनि अगाडि बढाउन आग्रह गरे।

नेता पौडेलले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्डलाई डबल लेन सडक, बुटवल–लमही–कोहलपुर सडक विस्तार, बुटवल–नारायणगढ सडक, बुटवल सम्मेलन केन्द्र, बुटवल मेडिकल कलेजको निर्माण, तिलोत्तमामा प्रादेशिक बसपार्क र सैनामैनामा लामीडाँडा दह निर्माण जस्ता महत्वपूर्ण आयोजनाको काम अगाडि बढाइए पनि सरकारले ती आयोजनाप्रति चासो नदिएको बताए।

उनले सरकारमा रहँदा र बाहिर रहँदा पनि आफूहरू उद्योगी व्यवसायीको पक्षमा रहेको भन्दै उद्योग वाणिज्य क्षेत्रको विकास र प्रोत्साहनको लागि अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

‘सरकारमा रहँदा नीति निर्माण गरेर र बाहिर रहँदा नीति निर्माणको कार्यान्वयनका लागि साथमा रहेर हामी उद्योगी व्यवसायीको सहयोगी बनिरहन्छौं।’

पौडेलले लामो प्रयासपछि बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्र विस्तारको लागि जग्गाप्राप्ति गरी शिलान्यास समेत भइसकेको अवस्थामा अहिले सोही जग्गा अतिक्रमण हुँदा समेत सरकार मुकदर्शक बनेको गुनासो गरे।

‘मोतीपुरमा जुन उद्देश्यले औद्योगिक क्षेत्रको विकास गर्न खोजिएको थियो त्यसतर्फ हेलचेक्रयाइँ नगरियोस्’, पौडेलले भने।

बुटवल क्षेत्रबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले बुटवलमाथिको चुर क्षेत्रमा देखिएको भूक्षय रोक्न भौगर्भिक अध्ययन गर्नुपर्ने उल्लेख गर्दै त्यसको लागि प्राविधिक टोली खटाउन सरकारलाई आग्रह गरे।

पौडेलले रुपन्देही क्षेत्रको विकास आयोजनामा विनियोजित बजेटको सदुपयोग भए नभएको निगरानी गर्न सञ्चार क्षेत्रलाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस