विधिपूर्वक घटस्थापनासहित जमरा राखी बडा दसैँँ सुरु

रासस

विहीबार, २१ असोज २०७८, २२ : २४
विधिपूर्वक घटस्थापनासहित जमरा राखी बडा दसैँँ सुरु

काठमाडौं । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैँँ सुरु भएको छ ।

 प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडा दसैँँ सुरु हुन्छ । बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडा दसैँँ सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ ।

बडा दसैँँको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दसैँँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ । पूजा कोठा वा दसैँँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि लगाइन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गोतमले बताउनुभयो । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ ।