फार्मभित्र छिरेर चितुवाले मार्यो आधा दर्जन बाख्रा

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १० : ३०
फार्मभित्र छिरेर चितुवाले मार्यो आधा दर्जन बाख्रा

कञ्चनपुर । बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो ।

व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए । “बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो”, उनले भने , “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”

मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । रु छ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आएका छन् । । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।

चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए । 

प्रतिक्रिया दिनुहोस