भरतपुर महानगरका गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पुग्यो : महानगर प्रमुख दाहाल

भरतपुर महानगरका २९ वटा वडामा ३९ वटा स्वास्थ्य संस्था सञ्चालन

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १० : २४
भरतपुर महानगरका गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पुग्यो : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडामा ३९ वटा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । यससँगै महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्रको लक्ष्य पूरा गरेको हो । महानगरले १३ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एउटा सामुदायिक ईकाई, एउटा मातृ शिशु क्लिनिक, एउटा स्वास्थ्य क्लिनिक, ६ वटा आयुर्वेद औषधालय सञ्चालन गरेको छ । यिनी स्वास्थ्य संस्थाहरुमा आठ जना चिकित्सकसहित दुई सयभन्दा स्वास्थ्यकर्मी कार्यरत छन् ।

महानगरले गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गरेसँगै सामान्य अवस्थाको उपचार सेवा महानगरवासीले गाउँमा नै पाउन थालेका छन् । महानगरपालिकामा १९ वटा स्वास्थ्य केन्द्रहरु स्थानीयस्तरबाट जनशक्ति परिचालन गरी सञ्चालन गरिएको हो । महानगरपालिकाको प्रमुख निर्वाचित भएपछि रेनु दाहालले पहिलो काम भरतपुर अस्पतालमा महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई निःशुल्क बहिरंग टिकटको व्यवस्था गरेकी थिईन् । यसबाट वार्षिक रुपमा दुई लाख जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् । महानगरपालिकाले यसका लागि वार्षिक रु ६० लाख खर्च गर्दै आएको छ ।

महानगरका गाउँगाउँमा स्वास्थ्यको पहुँच पु¥याईएको प्रमुख दाहालले बताईन् । । गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजाने एम्बुलेन्सको शुल्क महानगरले भुक्तानी गर्दै आएको बताउँदै उनले भनिन्  “शिवनगर र शारदानगरमा कोभिड आईसोलेसन बनाएर अक्सिजन, चिकित्सक सहित सेवा दिंदै आएको ।छौं ।” शिवनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी भिडियो एक्सरे र डिजिटल एक्सरेसहितको १५ शैयाको कोभिड अस्पताल बनाईएको र अस्पतालको दिगोपनका लागि भवन निर्माण, मर्मत तथा विस्तार गरी आवश्यक पूर्वाधार निर्माण गर्ने काम भईरहेको दाहालको भनाई छ ।

यसैगरी शारदानगरमा १५ शैयाको कोभिड अस्पताल सञ्चालन गरिएको उनले जानकारी दिईन् । सो अस्पतालको स्तरोन्नती र निरन्तरताका लागि आवश्यक कानुनी, आर्थिक र भौतिक संरचनाका लागि प्रदेश तथा संघीय सरकारलाई आवश्यक विश्लेषण सहित पत्राचार गरिएको दाहालले बताईन् । महानगरभित्र रहेका महिला स्वासथ्य स्वयंसेविकाहरुलाई उत्प्रेरित गर्दै पहिलो पटक चाडवाड खर्च समेत प्रदान गर्न शुरु गरिएको भन्दै दाहालले भनिन्  “दीर्घकालिन सेवा गरेका ३७ जना स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजार सहित सम्मान गरेर विदाई गरेका छौं ।” महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल हस्तान्तरण अभियान शुरु गरिएको उनले बताईन् । 

महानगरपालिकाले कोभिडको समयमा उपचारका लागि उद्योग संघको प्रदर्शनी केन्द्र र बागेश्वरीमा अस्थायी अस्पताल स्थापना गरी उपचार गरेको स्मरण गराउँदै दाहालले भनिन्  “कोभिड परीक्षणका लागि स्वाब काठमाण्डौं पठाउनु पर्ने बाध्यता थियो, हामीले पहल गरेर यही प्रयोगशाला स्थापना गरेका छौं ।” हाल सोही प्रयोगशालामा कोभिड परीक्षण भईरहेको छ ।

कोभिडकै समयमा ४८ वटा क्वारेन्टाईन स्थापना र वडा वडाबाट स्वाब संकलन समेत गरिएको थियो । महानगरले कोभिडबाट मृत्यु भएपछि शव व्यवस्थापनका लागि निःशुल्क शव वाहान र अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउँदै आएको छ । प्रमुख दाहालका अनुसार महानगरमा दाताहरुबाट प्राप्त स्वास्थ्य सामाग्री र महानगर स्वयंले खरिद गरी गुणस्तरीय सेवामा प्रोत्साहन पुगोस् भन्नका लागि मातहतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको छ ।

भरतपुर महानगरपालिकालाई पूर्ण खोप महानगर घोषणा गरिएको छ । महानगरका उपप्रमुख पार्वती शाह ठकुरीका अनुसार महानगर मातहतका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत चार वटा विद्यालयमा प्रदेश सरकारको समन्वयमा कार्यक्रम शुरु भएको र थप विद्यालयका लागि पहल भईरहेको ठकुरीले जानकारी दिईन् । । महानगरले सुत्केरी महिलालाई निःशुल्क झुल वितरण गर्दै आएको छ भने क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमको शुरुवात गरेको छ । 

महानगरले आफ्नै जनस्वास्थ्य ऐन २०७७ निर्माण तथा प्रमाणिकरण गरी कार्यान्वयन गरेको छ । ठकुरीका अनुसार महानगरमा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा कार्यविधि २०७६, दीर्घकालिन सेवामा रहेका महिला स्वयंसेविकाहरुको सम्मानजनक विदाई कार्यविधि २०७७, स्वास्थ्य संस्था दर्ता, अनुमति, नविकरण तथा स्तरोन्नती सम्बन्धी कार्यविधि २०७७ निर्माण गरिएको छ ।

महानगरको पहलमा गैरआवासीय नेपाली महासंघसँग समन्वय गरेर रेडक्रस सोसाईटी चितवनलाई अत्याधुनिक रगत संकलन बस हस्तान्तरण गरिएको छ । महानगरको जनस्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी गरिब, अति विपन्न तथा पिछडिएका वर्गलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने उद्देश्यका साथ यस वर्ष बजेट विनियोजन गरिएको बताउछन् । महानगरपालिकाको वडा नं। १५ मा ५० शैयाको आयुर्वेदिक अस्पताल स्थापनाका लागि प्रदेश सरकारसँग आवश्यक प्रक्रिया अघि बढाईएको सुवेदीले बताए ।

महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जनसंख्याको चाप बढ्दै गएकाले सेवालाई विकेन्द्रीत गरिएको बताए । भट्टले भने  “सामान्य स्वास्थ्य उपचारका लागि अब सदरमुकाममा नै आउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।” संघीय स्तरको भरतपुर अस्पताल, वीपी कोईराला मेमामेरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, दुई मेडिकल कलेज, दुई दर्जन हाराहारी निजी अस्पताल भरतपुरको मुख्य शहरी क्षेत्रमा क्षेत्रमा रहेर सेवा दिएको भए पनि महानगरले गाउँगाउँमा सेवा पु(याएको हो ।

प्रतिक्रिया दिनुहोस