राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...

रासस

मंगलबार, १९ असोज २०७८, १५ : ५७
राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...

भक्तपुर । सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो । 

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ हुँदै गरेको आकस्मिक कक्ष, नयाँ बन्दै गरेको भवन, कोभिड ब्लक, नयाँ आइसियुदेखि अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराईन। 

अस्पतालले कोभिड महामारीमा गरेको काम, विस्तार गरेको सेवा, ल्याब, एक्स–रेको अवस्था, कार्य मूल्याङ्कनमा ३८ प्रतिशतमा रहेको अस्पताललाई अहिले ८३ प्रतिशतमा पु¥याएर वाग्मती प्रदेशकै उत्कृष्ट अस्पतालको पुरस्कार पाउन सफल रहेको मन्त्री श्रेष्ठलाई उनले जानकारी गराईन । 

मेसु डा.गौतमले कोभिडको तेस्रो लहरको तयारीस्वरुप अस्पतालले तयार पारेको ठूला बिरामीका लागि १६, भर्खर जन्मेका बच्चाका लागि १० र १८ वर्षमुनिका बिरामीका लागि १० गरी कूल ३६ शय्याको आइसियु, दैनिक एक हजार ५०० किलोलिटर लिक्विड अक्सिजन उत्पादन गर्नसक्ने अक्सिजन प्लान्ट, अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट देखाउँदै भक्तपुरका अस्पतालाई पुग्ने अक्सिजन उत्पादनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईन। 

राज्यमन्त्री श्रेष्ठसमक्ष अस्पतालले थोरै रकममा पनि धेरै उपलब्धि हासिल गर्दैै कवाडी थुपारिएको ठाउँमा बिरामी राख्ने शय्यादेखि प्रशासनीक भवन र सभा हल बनाएको जानकारी गराउँदै जनशक्ति अभावले समस्या आएको गुनासो सुनाईन । 

भक्तपुर अस्पतालको अवस्था प्रत्यक्ष नियालेका राज्यमन्त्री श्रेष्ठले ११८ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले २०० शय्या सञ्चालनको लक्ष्य लिइरहँदा ठाउँ अभावले समस्या पारेको बताईन । भक्तपुर अस्पतालको क्षेत्रमा भक्तपुर क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्रसमेत सञ्चालन गर्नु पर्दा ठाउँको अभाव झेल्नु परेको भन्दै उनले अस्पतालको सेवा विस्तारका क्रममा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था सरकारको दायित्वमा रहने बताईन।

यहाँको सहरको यो मुख्य अस्पताल भएकाले गुणस्तरीय सेवाबाट माथि जानुपर्नेमा जोड दिँदै अस्पतालको स्तरोन्नति गर्नुपर्ने र अस्तव्यस्त भने देखिन नहुने औँल्याए । कुनै पनि बिरामीको पहिलो गन्तव्य सरकारी अस्पताल हुनुपर्छ भन्दै उनले उपचारका लागि आएका बिरामीको त्यहाँ उपचार हुन नसके जिल्ला अस्पताल, प्रदेश अस्पताल, सङ्घका अस्पताल, त्यसपछि मेडिकल कलेज हुँदै त्यहाँ पनि उपचार हुन नसके अन्तिममा मात्रै निजी अस्पतालमा रिफर गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड थियो ।

राज्यमन्त्री श्रेष्ठले भने, “इमरजेन्सी अस्पतालको गहना हो, त्यसको सेवालाई २० प्रतिशत बढाउँदै जानुपर्छ, इमरजेन्सी यस्तो होस् कि बिरामी आएपछि अब म बाँच्छु भन्ने परोस्, बिरामीको भीड भएकाले अस्पतालको सेवालाई रातो, हरियो, पहेँलो, नीलो गरेर चारवटा क्लष्टरमा विभाजन गरेर सेवा दिनुपर्छ ।” अस्पताल आफँै आत्मनिर्भर हुने र गुणस्तरीय सेवा दिनेमा अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले बीमा सेवालाई विस्तार गर्ने र पेइङ क्लिनिक सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

“सरकारले अब सरकारी अस्पतालमा एक अस्पताल, एक चिकित्सकको अवधारणा अगाडि सारेको छ, सरकारी अस्पतालमा काम गर्ने चिकित्सक पैसाका लागि निजी क्लिनिकमा जानु नपर्ने गरी सेवा सञ्चालन गर्नु आवश्यक छ,” राज्यमन्त्री श्रेष्ठले भने, “स्वास्थ्य बीमा गरेका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिने अनि पैसा तिर्न सक्ने बिरामीहरुका लागि ३ बजेपछि शुल्क लिएर सुविधासम्पन्न सेवा दिनुस्, चिकित्सकलाई त्यहीँबाट थप रकम दिनुस्, पैसाका लागि चिकित्सकलाई क्लिनिक धाउनै पर्दैन, बिरामीलाई निजी अस्पताल जानै पर्दैन, यो अवधारणामा अब जानुपर्छ ।”

भक्तपुर अस्पतालको संरचना निर्माणदेखि सेवा विस्तारसम्मका लागि गुरुयोजना बनाएर ल्याउन निर्देशन दिँदै मन्त्री श्रेष्ठले सोच र योजना ठूलो राखेर अगाडि बढ्दै सबै कर्मचारीले यो मेरो हो भन्ने भावनाले काम गरेमा बजेटको अभाव हुन नदिने बताउनुभयो । बीमाले गरिब जनताले निःशुल्क उपचार पाएका छन् भन्दै उनले प्राविधिक कारणले रोकिएका बीमाको पैसा दसैँअगाडि नै पठाउने र अब बीमाको पैसा नरोकिने गरी व्यवस्था गरिने बताए ।

सरुवाको सन्दर्भ कोट्याउँदै अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमलाई उनले भने, “राम्रा काम गर्ने अस्पतालका प्रमुखको सरुवा हुँदैनन्, नराम्रो काम गर्ने र अस्पतालमा राजनीति धेरै गर्नेको मात्रै सरुवा हुन्छ, तपाईंको सरुवा हुँदैन ढुक्क भएर काम गर्नुस् ।” अस्पताल विकास समिति र प्रतिष्ठान लथालिङ्ग रहेको भन्दै उनले सरकारी अस्पतालमा विकास समितिको ऐन बनाउन जरुरी रहेको औँल्याए । अहिले ७५३ स्थानीय तहमा अस्पताल खोल्ने तर दरबन्दी अभावले समस्या पार्ने औँल्याउदै उनले तत्कालै २० हजार दरबन्दी आवश्यक रहेको बताए।

क्यान्सर अस्पताललाई अत्यावश्यक तीन मेसिन दिने प्रतिबद्धता 

भक्तपुर क्यान्सर अस्पतालको निरीक्षणमा पुग्दा त्यहाँको अस्तव्यस्तताले पनि उहाँको मन कटक्क खायो । बिरामीसँगको कुराकानी, ठाउँ अभावमा पनि दिएको सेवा, अत्यावश्यक मेसिनहरुको अभाव देखेर सरकारले अस्पताललाई सहयोग गर्ने बताए। देशका तीनवटा सरकारी क्यान्सर अस्पतालमा सरकारले पूरा दायित्व लिएर गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउनुपर्छ भन्दै उहाँले सरकारी अस्पतालप्रति रहेको जनताको विश्वासलाई गुम्न दिन नहुने औँल्याए। स्वास्थ्य सरकारको मूल दायित्व भएकाले अब कोरोनाको खोप अभियान सम्पन्न भएपछि सरकारले पब्लिक हेल्थलाई राम्रो बनाउने अभियानमा लागेको उनको भनाइ छ ।

सरकारी अस्पतालमा भएको उपकरण बिग्रने, मर्मत नहुने र निजीमा बिरामी जानुपर्ने प्रचलनको अन्त्य गर्न मन्त्रालयको मातहत रहने गरी कम्तीमा २५ जनाको प्राविधिक इन्जिनियरसहितको टोली बनाएर जुन सरकारी अस्पतालमा मेसिन तथा उपकरण बिग्रन्छ, त्यहीँ गएर बनाउने व्यवस्था गर्ने योजना अगाडि सारेको उनले बताए । 

    
प्रत्यारोपण केन्द्रका लागि सल्लाघारीको ९९ रोपनी माग 

यता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रवेश गरेसँगै यहाँको पनि निकै साँघुरो अवस्थाले राज्यमन्त्री श्रेष्ठलाई फेरि झस्कायो । नेपालको एक मात्रै प्रत्यारोपण केन्द्रले राम्रो सेवा दिँदै नमूनाका रुपमा अगाडि बढेको उनले चर्चा गरे । क्यान्सर र मिर्गौलाको बिरामीको चाप बढेको देख्दा अबको केही वर्षमै विकराल अवस्था हुन सक्नेमा चिन्ता व्यक्त गर्दै उनले मन्त्रालयमा सबभन्दा धेरै डायलोसिस र मिर्गौला प्रत्यारोपणको समस्याको गुनासो आउने गरेको बताए ।
 
सीमित स्रोत र साधनबाट सेवा दिइरहनुपरेको, बिरामीले एउटा डायलोसिस गर्न महिनौँ कुर्नुपर्ने अवस्थाको अब अन्त्य गर्नुपर्छ भन्दै मिर्गौैला प्रत्यारोपणमा देखिएको भयावह अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । सरकारले मिर्गौला, क्यान्सर, मुटु, स्पाइन इन्ज्वेरी जस्ता सेवालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । यस केन्द्रले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मिर्गौलाका बिरामीका लागि डायलोसिस सेवा सञ्चालन गर्न निर्देशन दिँदै डायलोसिसकै लागि बिरामीलाई यहाँसम्म आउनुपर्ने व्यस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस