गोठाला गएकालाई जब तीनवटा बाघले घेरे...

पत्रपत्रिकाबाट

सोमबार, १८ असोज २०७८, ०८ : १३
गोठाला गएकालाई जब तीनवटा बाघले घेरे...

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा चराउन गएका थिए । पूर्वपश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिकै उनीहरूले सोच्दै नसोचेको घटना भयो । सो घटनाले उनीहरूको होसहवास उड्यो ।

नउडोस् पनि किन, भैंसी र बाख्रा चराउन गएका उनीहरू बाघको घेराबन्दीमा परेका थिए । एउटा होइन, तीन÷तीनवटा बाघको घेराबन्दीमा परेपछि उनीहरू बाँच्नका लागि रूख चढे । रूख चढ्नुलाई नै उनीहरूले उत्तम उपाय ठाने । एकातिर उनीहरू रूखमै बसेर जीवनको भिख मागिरहेका थिए । अर्कातिर बाघ उनीहरूको सिकारका लागि कुरेर फेदमा बसिरहेको थियो । त्यहीबेला दुईवटा हात्तीलाई चराउन लगेका माउतेले यो कुराको जानकारी पाए । र, बाँके राष्ट्रिय निकुञ्जका यी दुई हात्तीको सहायतामा उनीहरू तीनै जनालाई उद्धार गरियो ।

बाघबाट जोगिन रूखमा चढेका उनीहरूलाई निकुञ्जका हात्तीले उद्धार गरेर घर पु¥याएको हो । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उनीहरूको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जानकारी दिए ।

पछिल्ला केही दिनयता पूर्वपश्चिम राजमार्गसमेत पाटेबाघका कारण असुरक्षित भएको छ । बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको मध्यवर्ती क्षेत्रको गाभरमै गत २७ भदौमा पाटेबाघले भारतीय नागरिकलाई मारेको थियो । यस्तै, दुई वर्षअघि निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब महिना दिनको अन्तरमा पाटेबाघले दुई महिलाको ज्यान लिएको थियो ।

यी घटनाले त्रास बढिरहेको अवस्थामा शनिबार तीन गोठाला बाघको फन्दामा परेपछि यहाँका जनता त्रसित बनेका छन् ।बाघ संरक्षणको उद्देश्यले सरकारले स्थापना गरेको कान्छो निकुञ्जमा बाघका कारण यतिबेला त्रासको अवस्था सिर्जना भएको छ । यी घटनाले मानव र वन्यजन्तुबीच द्वन्द्व हुने खतरा बढ्दै गएको देखाउँछ ।

निकुञ्ज आसपासका स्थानीयले लगाएको खेतीबाली वन्यजन्तुले सखाप पार्ने, साथै स्थानीयले पालेका पशुचौपाया पनि मारिदिने हुँदा मानव वन्यजन्तुबीचमा द्वन्द्व बढेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका गेहेन्द्रकुमार खड्का बताउँछन् । ‘मानव र वन्यजन्तु द्वन्द्वका कारण संरक्षणमा समस्या हुने गरेको छ । संरक्षणमा लागेकाहरू नै बढी जोखिममा रहे पनि यो हाम्रो बाध्यता पनि हो,’ उनले भने । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस