स्पेनिस ला लिगा : रियललाई स्पान्योलको झट्का

एजेन्सी

सोमबार, १८ असोज २०७८, ०८ : ०१
स्पेनिस ला लिगा : रियललाई स्पान्योलको झट्का

एजेन्सी । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिडलाई स्पान्योलको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो ।

रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६०औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको पासमा गोल गरेका थिए ।

पाहुना टोली रियलले खेलको सुरुवातदेखि आक्रमण बुनेपनि पहिलो हाफमा गोल गर्न सकेन । ७१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । बेन्जेमाले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा बेन्जेमाको यो नवौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष सुचीमा छन् ।

६६ प्रतिशत बल पोसेसन राखेको रियलले खेलभर १८ वटा पोस्ट प्रहार गरेको थियो । बलमा पकड जमाएपनि थप गोल गर्न नसक्दा रियल हार खेप्न बाध्य बन्यो । यता ३४ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले आठ वटा पोस्ट प्रहार गरेको थियो । रियलको आक्रमणमा रक्षात्मक देखिएको स्पान्योल अन्ततः आफ्नो रणनितिमा सफल भयो ।

रियलका लागि यस साता विर्सन लायक बन्यो । रियलले गत मंगलबार मात्र च्याम्पियन्स लिगको समूह चरणको खेलमा सेरिफ टिरास्पोलसँग २–१ को हार खेपेको थियो । स्पान्योलका एड्रियन एम्बार्बा ‘म्यान अफ दी म्याच’ बने । हारेपनि रियल शीर्षस्थानमा यथावत छ । आठ खेलमा पाँच जित, दुई बराबर र एक हार खेपेको रियलको १७ अंक छ । रियललाई हराएको स्पान्योल नौ अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान १७ अंक छ ।

आइतबार राति नै भएको खेलमा सोसिडाड गेटाफेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्को खेलमा १० खेलाडीमा समेटिएको सेभिया ग्रानाडासँग १–० गोलले पराजित भयो । अन्य खेलमा भिल्लारियलले रियल बेटिसलाई २–० र इल्चेले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस