माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, ०८ : २३
माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

माल्दिभ्स । साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।

नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् । यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्ततस् यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

इब्राहिम हसनको हेडलाई किरणले रोकेका थिए । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन र एउटा मौका गुमेको थियो । मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् ।

खेलको २३ औं मिनेटमा नवयुग श्रेष्ठले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन र माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए । माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन । 

प्रतिक्रिया दिनुहोस