स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १० : ४०
स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

एजेन्सी । बार्सिलोना युवा स्टार अन्सु फाती १० महिनापछि फर्किएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई ३–० गोलले हरायो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपाए, लुक डि जोङ र अन्सु फातीले गोल गरे । सातौं मिनेतमा डिपाएले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । लिभान्तेका नेमान्जा राडोजाले डिपाएलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसलाई डिपाएले सही सदुपयोग गरे । १४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए । लगातार गोलको अवर बनाएको बार्सिलोनाले पहिलो हाफमै थप तीनवटा अवसर खेर फालेको थियो । ७० प्रतिशत बल पोसेसन राख्न सफल बार्सिलोनाले २० वटा पोस्ट प्रहार गरेको थियो । तर बार्सिलोनाले तेस्रो गोल इन्जुरी समयमा पुगेर थप्न सक्यो ।

३० प्रतिशत बल पोसेसन राखेको लिभान्तेले ६ वटा पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा अतिरिक्त खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । फाती ८१औं मिनेटमा लुक डि जोङको स्थानमा मैदान प्रवेश गरेका थिए । गत नोभेम्बरमा घाइते भएका फाती कमब्याक गरेको पहिलो खेलमै गोल गर्न सफल भए । बार्सिलोनाका सर्जिनो डेस्ट ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ । लिगमा अपराजित यात्रा कायम राखेको बार्सिलोनाको ६ खेलबाट १२ अंक पुगेको छ । पराजित लिभान्ते चार अंक सहित १७औं स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १७ अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ । आइतबार रातिनै भएको खेलमा सोसिडाड इल्चेलाई १–० गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । सोसिडाडको जितमा माइकल ओयर्जाबलले ८१औं मिनेटमा निर्णायक गोल गरे । उनले इगोर जुबेल्डियाको पासमा गोल गरेका थिए । हारसँगै ६ अंक बनाएको इल्चे १५औं स्थानमा छ ।अन्य खेलमा बेटिसले गेटाफेलाई २–०, रायो भालेकानोले क्याडिजलार्ई ३–१ र ओसासुनाले मालोर्कालाई ३–२ गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस