एमाले बैठकमा बोल्न पाएनन् रामचन्द्र मण्डल, रघुवीर महासेठबीच के थियो विवाद ?

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, ०९ : ३१
एमाले बैठकमा बोल्न पाएनन् रामचन्द्र मण्डल, रघुवीर महासेठबीच के थियो विवाद ?

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका रामचन्द्र मण्डलले बोल्नै पाएनन् । उनलाई बोल्न रोक्ने नेता हुन् रघुवीर महासेठ  ।

बैठकमा प्रदेश २ का २० जना नेताले बेग्लै समूह बनाएर छलफलमा भाग लिएका थिए । छलफलमा उठेका विषयहरु शनिबार १० वटै टोलीका नेताहरुले बैठकमा प्रस्तुत गरिसकेका छन् । तर, प्रदेश २ का टोली नेतामाथि हस्तक्षेप गरेर रघुवीर महासेठले मण्डललाई बोल्न दिएनन् ।  

दुई नम्बर प्रदेशका टोली नेता रामचन्द्र मण्डलले बोल्न नपाएपछि एमाले वृत्तमा यो विषयले चर्चा पाएको छ ।  अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेल तथा उपमहासचिव एबम् संगठन विभाग प्रमुख विष्णु पौडेलले रघुवीरलाई सचेत गराउने भन्दै मण्डललाई बोल्न नदिइएको विषय गम्भीर रुपमा लिइने बताएका छन् । अध्यक्ष ओलीले रघुवीरको निर्णयलाई ‘विवेकशून्य’ भनेका छन् । 

समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो ।

शुरुमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि महासेठले नै धनुषा इन्चार्ज रामचन्द्र मण्डललाई बनाउन सुझाव दिएका थिए । ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् ।

समूहगत छलफलको टिपोट सकिएर शनिवार टाइप गर्ने ठाउँ नभएपछि हातैले लेखेका बुँदाहरु पढ्न मण्डल तयार भए । स्थायी कमिटी सदस्यहरु छलफलमा नबस्ने भनिएको थियोे । अन्तिममा रघुवीरले ‘खोइ के के बनाउनुभयो ? भन्दै टिपोट मागेर हेरे ।

त्यसको पहिलो बुँदामै लेखिएको ‘अध्यक्ष कमरेडको राजनीतिक प्रतिवेदनमा शुरुमै यो पार्टी नेकपा एकताको निरन्तरता हो भनेर प्रष्ट भाषामा लेख्नुभएकोमा धन्यवाद दिन चाहान्छौं । अब १० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ ।

यो बुँदा नै महासेठलाई मन परेन । यसो गर्दा महासेठको प्रदेश इन्चार्ज पद नरहने भयो । त्यसैले उनले त्यो काट्न लगाए । काट्न कसैले नमानेपछि विवाद भयो । महासेठले ‘त्यसो भए तपाई नबोल्नुस’ भनेर मण्डललाई निर्देशन दिए । मण्डलले ठीक छ त्यसो भए म बोल्दिन भने ।

मण्डल नबोल्ने भएपछि कसले टोली नेताको रुपमा प्रस्तुत गर्ने भन्ने विवाद भयो । महासेठले सरोज यादव, टेकवहादुर बलम्पाकी लगायतलाई बोल्न भने । तर एउटा कमरेडलाई अपमान गरिएको भन्दै कोही बोल्न नमानेपछि अन्तिममा बद्री मैनालीले बोलेका थिए ।

प्रदेश २ को प्रस्तुति फितलो भएको चर्चा समेत बैठकमा चल्यो । अन्तिममा महासचिवले ‘कसैको छुटेको कुरा भन्नु छ ? भनेर सोधेपछि रामचन्द्र मण्डल उठेर बोल्न समय मागे । उनले आफूलाई टोली नेता भएर पनि बोल्न नदिइएको भन्दै यस्तो भयो भने पूर्व माओवादीको संरक्षण कसले गर्ने ? भन्ने भाबुक प्रश्न गरे । उनले पार्टी अध्यक्षले दस्तावेजमै नेकपा एकता प्रक्रियाको निरन्तरता भनेको भन्दै पूर्व माओवादीलाई कोटा नछुट्याउने हो भने महाधिवेशन प्रतिनिधि नै आउन नसकिने अवस्था रहेको बताए ।

मण्डलको कुरालाई शीर्ष नेताले गम्भीर रुपमा लिए । अध्यक्ष ओलीले उनको कुरा बुझ्न खोजे । त्यतिन्जेल रघुवीर हिँडिसकेका थिए । तर तीनै जना शीर्ष नेताले प्रदेश २ को कुरा गम्भीर रहेको र कसैमा अन्याय हुन नदिइने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रदेश २ बाट एमाले स्थायी कमिटीमा रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । तर दुवै नेताको शैली ठीक नभएको भन्दै युवा केन्द्रीय सदस्यहरुले प्रदेश २ को सन्दर्भमा विचार गर्न र माथिल्लो तहबाट पदाधिकारीलाई नै इन्चार्ज बनाउन सुझाव दिएका छन् ।

प्रदेश २ मा माओवादीबाट नेकपा एकता प्रक्रियाकै निरन्तरका रुपमा ठूलो संख्यामा नेता कार्यकर्ता एमाले बनेका छन् । चार रपाँच जना मेयर र उपमेयरमात्र होइन प्रदेशसभाका ४ सदस्य र प्रतिनिधिसभाका एक सदस्य एमाले बनेका छन् । प्रभु साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल र टेकवहादुर बलम्पाकी नेकपादेखि नै केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस