पत्रकार र परिवारका सदस्यको पाठेघर र स्तन क्यान्सर परीक्षण

रासस

विहीबार, ०७ असोज २०७८, २० : ०९
पत्रकार र परिवारका सदस्यको पाठेघर र स्तन क्यान्सर परीक्षण

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार र परिवारका सदस्यको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रमको आज बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुभारम्भ गरिएको हो  । 

महासङ्घको अगुवाइमा आज र असोज १४ गते शिविर गरिने छ भने अन्य समयमा आउनेलाई आवश्यक सहजीकरण गरिने अस्पतालले जनाएको छ । उद्घाटन सत्रमा महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले दिनरात नभनी काम गर्ने पत्रकार महिला र पत्रकारका परिवारका महिला सदस्यलाई अभियानको रुपमा कार्यक्रम थालनी गर्नु सह्रानीय कार्य भएको बताए । 

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले समयमा उपचार गरेमा क्यान्सर निको हुने भएकाले नियमित परीक्षण गर्न सुझाव दिए । उनले भने, “समयमा रोग पहिचान भएमा थोरै खर्च र समयमा क्यान्सर निको पार्न सकिन्छ ।” स्तन र पाठेघरको क्यान्सर मुख्य पाँच वटा क्यान्सरमा पर्ने उल्लेख गर्दै उनले भने ‘स्तन क्यान्सर आफैँ छामेर परीक्षण गर्न सकिन्छ ।’ जनचेतनाको अभावका कारण सामान्य हेलचक्र्याइले क्यान्सर फैलिने गरेको उनको भनाइ छ ।

खानपान र जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने धेरै क्यान्सरका रोगबाट बच्न सकिने बताउँदै उनले अगाडि भने,  “शारीरिक रुपमा सक्रिय जीवनयापन गर्ने र विषादीरहित खाना खाँदा पनि धेरैजसो क्यान्सरबाट बच्न सकिन्छ ।” क्यान्सर रोग रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रम संयोजक समीक्षा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका अध्यक्ष नारायण अधिकारी, अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा, अस्पतालका प्रशासक गृनारायण महतो, डा अस्मिता राणा, कार्यवाहक नर्सिङ प्रमुख रिता घिमिरे, सिनियर स्टाफ नर्स तारा दवाडीलगायतको उपस्थिति रहेको थियो । महासङ्घका अध्यक्ष अधिकारीले सुन्दा सामान्य लागे पनि स्तन र पाठेघरको क्यान्सर परीक्षण महत्वपूर्ण भएको बताए । कार्यक्रममा ३२ जना महिलाको पाठेघरको मुखको र स्तनको स्क्रिनिङ्ग (परीक्षण) गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस