ललिता निवास जग्गा प्रकरणबारे गच्छदारको स्पष्टीकरण : राजनीतिक प्रतिशोध साँध्न ममाथि मुद्दा चलाइयो

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १४ : ४०
ललिता निवास जग्गा प्रकरणबारे गच्छदारको स्पष्टीकरण :  राजनीतिक प्रतिशोध साँध्न ममाथि मुद्दा चलाइयो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको बताएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्। डेढ वर्षपछि सार्वजनिक मञ्चमा प्रस्तुत भएका गच्छदारले मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयको विषयमा एक्लैलाई छानिछानि मुद्दा चलाईएको बताएका थिए। उनले आफूले जिम्मेवारी सम्हाल्नु अगाडिबाटै प्रधानमन्त्री निवासको बाटो बिस्तारको योजना अगाडि बढेको स्पष्ट पारेका छन्।

‘प्रधानमन्त्री निवास बिस्तारको योजना म जिम्मेवारीमा आउनु अगाडिबाटै सुरु भएको थियो,’उनले भने,‘म जिम्मेवारीमा आएपछि तहतहबाट आएको टिप्पणीलाई मैले मन्त्रिपरिषदमा पेस मात्र गरेको थिँए। मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयमा म एक्लैलाई छानिछानि मुद्दा चलाइयो।’

उनले आफूले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषदमा फाइल प्रस्तुत गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले मन्त्रीपरिषद् बैठकको सामूहिक निर्णयमा एक्लैलाई मुद्दा चलउनु राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र रहेको स्पष्ट भएको उल्लेख गरे।  

उपसभापति गच्छदारले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेस सहितका दलहरुलाई तर्साउन संवैधानिक आयोगलाई प्रयोग गरेर मुद्दा चलाउनुपर्नेलाई राजनीतिक संरक्षण गरेको र आफू लगायतलाई छानिछानि मुद्दा चलाएको दाबि गरेका थिए।

यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत प्रयोग हुन पुगेको गच्छदारको भनाई छ। उनले यसबारे न्यायालयमा न्याय पाएपछि मात्र अभिव्यक्ति दिने पक्षमा रहेपनि अहिले नै  यसबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको बताए। उनले ५ दशक लामो आफ्नो सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्र विरुद्ध स्पष्ट पार्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताए। राजनीतिक छाँयाका आधारमा अख्तियारले काम गरेको गच्छदारको आरोप छ। उनी २०७८ असार ३० मा  विशेष अदालतमा उपस्थित भएरका थिए। उनलाई  विशेष अदालतले धरौटिमा  रिहा गरेको थियो।


 

प्रतिक्रिया दिनुहोस