काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुने भएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने सरकारलाई बाध्यता छ । न्यूयोर्कमा सार्क राष्ट्रका विदेशमन्त्रीको भेला पनि हुने भएकाले सरकारलाई परराष्ट्र मन्त्री यथाशक्य चाँडो नियुक्त गर्न दबाब छ ।
‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ, अन्य मन्त्रालयमा पनि छिटै मन्त्री बनाउने सहमति गठबन्धनका शीर्ष नेताहरूबीच बनेको छ,’ गठबन्धनमा आबद्ध जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भनिन् । यद्यपि, अन्य मन्त्रीका विषयमा दलहरूबीच सहमति जुटिसकेको छैन । अन्य प्रमुख मन्त्रालयमा पनि मन्त्रीहरू नियुक्त गर्दै जाने सहमति पाँच दलबीच भएको छ । बुधबार पनि पाँच दलको बैठक बस्ने भएको छ ।
परराष्ट्रमन्त्री कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी छ । यसका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकले परराष्ट्रमन्त्रीबारे टुंगो लगाउनेछ ।स्रोतका अनुसार नारायण खड्का परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । खड्का देउवाका विश्वास पात्र मानिन्छन् ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । त्यस दिन कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका थिए । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री भएका थिए । १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको थियो ।
पाँच दलीय गठबन्धनमध्ये जनमोर्चाले सरकारमा नजाने प्रस्ट पारिसकेको छ भने माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकारमा सहभागिता जनाइसकेको छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०६ असोज २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री आरजूसँग रेशमको भेट
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस