एमालेको लगातारको संसद अवरोध : संविधानले नदिएको बाटो !

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १० : ०१
एमालेको लगातारको संसद अवरोध : संविधानले नदिएको बाटो !

काठमाडौं । नेकपा एमालले संसद् अवरोध गरिरहेको छ। एमालेले तीन दिनसम्म पनि विरोधका कार्यक्रमलाई जारी राखे पनि सभामुख सापकोटाले संसद्‍का कामकारबाहीलाई अघि बढाइरहेका छन्। 

एमालेको अवरोधकै बीच नवौँ अधिवेशन सुरु भएका तीन दिनमा बजेट प्रतिस्थापनसम्बन्धी  विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक, २०७८ लगायतका विधेयक संसदमा पेस भएका छन्। तेस्रो दिनको दुई पटकसम्म बैठक सञ्चालनका लागि प्रयास भएपनि एमाले सांसदको नाराबाजीका सञ्चालन हुन सकेन। 

भदौ २५ गतेको बैठकमा त एमाले सांसद्हरुले मर्यादा पालकलाई टोक्नेदेखि माइक निकालेर सभामुखलाई ताक्नेसम्मको हर्कत देखाए। सार्वजनिक रूपमा एमाले सांसदका हर्कतको तीव्र आलोचना भएपछि आइतबार केही संयमित देखिएका एमाले सांसद्हरुले सभामुख सापकोटाले बैठक स्थगित गरेपछि पनि नाराबाजी गरिरहेका थिए। यथास्थितिमा बैठक चल्न नसक्ने भन्दै उनीहरूले सभामुखको वेल घेर्दै प्रदर्शन गरेका थिए। 

संसद्‍को गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले आइतबार सर्वदलीय बैठक राखेका थिए। तर, उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नै भएन। छलफलपूर्व एमाले प्रमुख सचेतक विशाल भट्टराई र संसद् खगराज अधिकारीले सभामुखसँग भेटेर पक्षपातपूर्ण व्यवहारको अन्त्य नभएसम्म संसद् चल्न नदिने जानकारी गराएका थिए। 

भेटमा पक्षपातपूर्ण व्यवहारको अन्त्य नभएसम्म संसद् चल्न नदिने समेत उनीहरुले चेतावनी दिएका थिए। ‘नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद् टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई तुरुन्तै पदमुक्त गर्ने तर एमालेले कारबाही गरेका सांसद्लाई पदमुक्त नगरेर सभामुखले देखाएको पक्षपातपूर्ण व्यवहारको हामीले घोर भत्सना गर्‍यौँ,’  सांसद् अधिकारीले सुनाए। 

संसद् बैठक निरन्तर अवरोध भएपछि यसमा सहमति जुटाउन सभामुख अग्निप्रसाद सापकोटा प्रयासरत छन्। उनले एमाले सांसदहरूसँग छलफल गरे पनि छलफलले सकारात्मक निकास ननिस्किएपछि सोमबार साढे २ बजे सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखको निजी सचिवालयले जानकारी दिएको छ। 

सभामुख अग्नि सापकोटाले माफी माग्नु पर्ने र एमालेले निष्काशनको कारबाही गरेका माधव नेपालसहितका १४ सांसद्लाई पदमुक्त गर्नु पर्ने माग राखेर संसद्‍मा अवरोध खडा गर्दै आएको छ। सत्तारुढ दलको पछि लागेर जबरजस्ती अध्यादेश र विद्येयक पेस गरेको तर आफ्नो पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेको भन्दै एमाले सभामुखप्रति रुष्ट भएको हो। 

एमाले सांसद्हरुले सभामुख सापकोटाले यस्तै व्यवहार देखाए अब फरक ढंगले अघि बढ्नेु चेतावनी दिन थालेका छन्। फरक ढंगले अघि बढ्ने भनेको के हो तरु एमाले सांसद् तथा कार्यालय सचिव शेरबहादुर तामाङसँग हामीले यही जिज्ञासा राखेका थियौँ। उनका अनुसार फरक ढंगले अघि बढ्ने भनेको महाभियोग हो। 

‘उहाँ सभामुखले गरेको पक्षपातपूर्ण व्यवहार माफी मागेर नसच्याए हामी महाअभियोग लगाउने गरी अघि बढेका छौँ’ सांसद तामाङले भने, ‘दलले गरेको निर्णय नमान्ने र दल विभाजन गर्न मतियार बन्ने व्यक्तिलाई अब हामी सभामुखका रुपमा हेर्न सक्दैनौँ।’ उनका अनुसार यसका लागि एमालेले आन्तरिक छलफलसमेत अघि बढाएको छ। 

एमालेले महाभियोगका लागि तयारी र छलफल अघि बढाएको बताएपनि उक्त विषयमा भने नेपालको संविधानमा व्यवस्था नै छैन। वर्तमान संविधानको धारा ९१ मा सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा ६ मा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरिएको छ। धारा ९१ को उपधारा ६ को खण्ड गमा भएको व्यवस्था अनुसार सभामुखविरुद्ध निज (सभामुख उपसभामुख) ले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्तावमा छलफल हुन सक्छ। 

पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्तावमाथिको छलफलमा सभामुखले बैठकको अध्यक्षता गर्न नपाउने व्यवस्था सोही धाराको उपधारा ७ मा व्यवस्था गरिएको छ। यस्तो प्रस्तावमाथि हुने छलफलमा सभामुखले भाग लिन र मतदान गर्न भने रोक लगाइएको छैन।

सभामुखरउपसभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गर्नका लागि एक चौथाई सांसद आवश्यक पर्छन् भने यस्तो प्रस्ताव पारित गर्नका लागि दुई तिहाई मत आवश्यक पर्छ। एमालेसँग त्यस्तो प्रस्ताव दर्ताका लागि आवश्यक पर्ने एक चौथाई सदस्य भएपनि पारित गराउनका लागि आवश्यक पर्ने दुई तिहाई मत छैन। यस्तो प्रस्ताव दुई तिहाई मतका साथ पारित भएमा सभामुखको पद रिक्त हुने व्यवस्था छ।


 

प्रतिक्रिया दिनुहोस