काठमाडौं । नेकपा एमालेबाट विभाजित नेकपा एसमा प्रदेशको संसदीय दलको नेता बन्न नेताहरुको दौडध्रुप सुरु भएको छ ।प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने भएका छन् । गण्डकीमा भने नेकपा एसको एकजना पनि सांसद छैनन् ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । १४ सांसदसहित ठूलो दल बनेको हुनाले अन्य प्रदेशमा भन्दा त्यहाँ दलको नेता चयनमा पनि प्रतिस्पर्धा छ । दलको नेताका लागि तारा लामा तामाङ, दीर्घ सोडारी, माया भट्ट र पूर्णा जोशीले दावी गरे पनि सन्तुलनको हिसाबले तामाङलाई दलको नेता बनाउने तयारी नेकपा एसको छ ।
कर्णाली प्रदेशमा नेकपा एसका जम्मा तीनजना सांसद छन् । केन्द्रीय सदस्य समेत रहेकाले चन्द्रवहादुर शाही नेकपा एसको संसदीय दलको नेता बन्ने भएका छन् । लुम्बिनीमा नेकपा एसका एकजनामात्र सांसद रमा घर्ती छन् । त्यसैले त्यहाँ उनी स्वतः दलको नेता हुनेछिन् ।
वागमतीमा नेकपा एसका १३ जना सांसद छन् । ती मध्ये सबैभन्दा सिनियर भएका कारण राजेन्द्र पाण्डे सर्वसम्मत दलको नेता चयन हुने भएका छन् । उनी अष्टलक्ष्मी शाक्यलाई हटाएर मुख्यमन्त्री बन्ने तयारीमा समेत छन् ।
प्रदेश २ मा नेकपा एसका १३जना सांसद छन् । दलको नेता यसअघि पनि सत्रुघन महतो रहेकाले उनले नै निरन्तरता पाउने सम्भावना रहेको छ । प्रदेश २ मा नेकपा एस २ मन्त्रीसहित सरकारमा जाने तयारीमा समेत छ । प्रदेश १ मा नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा प्रतिस्पर्धा नभएको र सर्वसम्मत रुपमै राजेन्द्र राईलाई चयन गर्ने सम्भावना रहेको केन्द्रीय सदस्य तथा सांसद राजन राईले बताए । उनी दलको नेता हुनासाथ भीम आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ भदौ २०७८, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण