नेकपा एसबाट कोको बन्दैछन् मन्त्री ?

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १४ : ३९
नेकपा एसबाट कोको बन्दैछन् मन्त्री ?

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) ठूलो हिस्साका साथ सहभागी हुने भएको छ। सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा सरकार लागेको छ । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले मालदार मन्त्रालय पाउने निश्चित छ । तर सरकार गठनको दुई महिनाको मुखमा पुग्दा पनि मन्त्रालय विस्तार गर्न सकेको छैन । 

एकीकृत समाजवादीले भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने निश्चित भएको छ । भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको चासो छ । करिब एक वर्षका लागि सरकार संचालन गर्ने समय भएकाले मन्त्रालय प्रभावकारी रुपमा चलाउन सक्ने व्यक्ति पठाउनुपर्ने दबाब नेताहरुलाई छ।

नेकपा एसबाट प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ,  रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठलगायत मन्त्री हुने सम्भावना छ। पार्टी अध्यक्ष माधव नेपाल कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने  दबाबमा छन् । मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।

माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने सम्भावना छ । भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेका छन् । अध्यक्ष नेपालले भुसाललाई पार्टीको र सरकारको दुबै नेतृत्व दिने तयारीमा छैनन् । 

मुकुन्द न्यौपाने २०५६ तिर उद्योगमन्त्री बनेका थिए । त्यतिबेला उनको प्रस्तुति सन्तोषजनक थिएन । त्यहीं कारण न्यौपानेको 
 नेतृत्वमा सरकारमा जाने सम्भावना पनि कम रहेको छ । सांसदहरुमध्ये विरोध खतिवडा वरिष्ठ हुन् । उनको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा पनि छ । यद्यपी मुकुन्द न्यौपाने, वेदुराम भुसाल, प्रेम आलेलगायतमध्ये कुनै एकको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा नेकपा एसमा भइरहेको छ ।