चितवनमा रगतको अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

रासस

शुक्रबार, २५ भदौ २०७८, १२ : ५७
चितवनमा रगतको अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

चितवन । जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो ।

जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पु¥याउन निकै कठिन हुन थालेको छ । सम्बन्धित बिरामीका आफन्त र स्वयम्सेवीहरुको भरमा रगतको माग धानिएको हो । उनका अनुसार बिरामीको चाप बढेसँगै रगतको माग बढेको हो । कोरोनाको खोप लगाएकाले दुई साता रक्तदान गर्न मिल्दैन । मुख्य रक्तदाताहरु भएको समूहले अहिले खोप लगाइरहेको छ । यससँगै नेपाली कांग्रेसको निर्वाचन र कम्युनिष्ट पार्टीहरुको सङ्गठन विस्तार अभियानका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन् । 

यस्तै चाडपर्व पनि रक्तदान कार्यक्रम घट्नुको अर्को कारण हो । भाइरल फिवर र कोरोनाका बिरामीले गर्दा पनि रगत आपूर्तिमा कमी आएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै रगतको माग हुने गर्दछ । यससँगै भरतपुर अस्पताल, दुई मेडिकल कलेज र साना अस्पतालमा यहाँ सङ्कलित रगत जाने गर्दछ । पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलनमा सहयोग पु¥याउन अनुरोध गरिएको बताए ।
 

प्रतिक्रिया दिनुहोस