एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले दियो प्रचण्डसहित चितवनका सांसदलाई तीनदिनको अल्टिमेटम

प्रकाश सिग्देल

बुधबार, २३ भदौ २०७८, १५ : १४
एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले दियो प्रचण्डसहित चितवनका सांसदलाई तीनदिनको अल्टिमेटम

चितवन । एमसिसी सम्झौता सदनबाट पारित गराउने षडयन्त्र भइरहेको भन्दै अहिले आम नागरिकले नेता र नेतृत्वमाथि त्यो प्रकारको गलत काममा नफस्न खबरदारी गरिरहेका छन् ।

नेपाली जनताको मनोभावना माथि कुठाराघात गर्ने मनसायका साथ खतरनाक एमसिसीजस्तो राष्ट्रघाती योजना अगाडि आएको भन्दै अहिले सडकमा हरेक दिन विरोध प्रदर्शनसमेत भइराखेको छ । गृहमन्त्रालयले विरोधमा उत्रनेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । चितवनमा त झन एमसिसी खारेज अभियान संयुक्त संघर्ष समिति गठन गरेर हरेक गाउँ टोल स्थानीय तहदेखि बजार र चोकचोकमा विरोधका कार्यक्रम भइराखेका छन् ।

चितवनमा वामपन्थी नेता फडिन्द्र आचार्य र अजिव पौडेलले यसको मुल नेतृत्व  गरिरहेका छन् भने विप्लव नेतृत्वको नेकपाले यहाँ लिड गरिरहेको छ । बाँकी धेरै राष्ट्रवादी संघसंस्था, नेता र नेतृत्वको साथ रहेको छ । आममानिसहरु एमसिसीको विरुद्ध खुलेर विरोधमा आएका छन् ।

विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जन निर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको छ । देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक   सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । सांसदको मेलमा पत्र पठाएको पौडेलले बताए ।

उनीहरुले संघीय सांसद तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संघीय सांसद सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तीन  दिने अल्टिमेटम दिएका हुन् । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरुका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस