काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
त्यस्तै भदौ २१ गते ११ र आज भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । भदौ २३ गते रुकुुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उहाँले बताए ।
दोलखाको क्रियाशील सदस्यता नामावली सोमबार मात्रै प्राप्त भएकाले सो जिल्लामा वडा अधिवेशन केही दिनमा तोकिने समितिले जनाएको छ । यसबाहेक २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् ।
वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् ।
कांग्रेसले गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ भदौ २०७८, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस
राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा