उपत्यकामा १८ वर्षपछि ठूलो वर्षा

छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा

पत्रपत्रिकाबाट

मंगलबार, २२ भदौ २०७८, ०८ : ०७
छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा

काठमाडौँ । मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार राति १२१.५ मिलिमिटर वर्षा भएको हो । १८ वर्षअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिए ।

पछिल्ला वर्षहरूमा बढीमा ११५ मिलिमिटरसम्मको भारी वर्षा काठमाडौँमा रेकर्ड भएको पाइएको छ । काठमाडौँमा मनसुनी वायुको प्रभावसँगै स्थानीय वायुको चाप पनि बढेपछि ठूलो वर्षा भएको मौसमविद् कँडेल सुनाउछिन् । उनले दिनभर चर्को घाम लाग्दा जमिन तातिएपछि बनेको स्थानीय बादल मनसुनी वायुमा मिसिन पुगेको जानकारी दिए ।

आइतबार राति बागमती र गण्डकी प्रदेशका धेरै जिल्लामा भारी वर्षा भएको छ । आइतबार मध्यरातमै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशीलसिंह राठौरले दिनुभएको जानकारीअनुसार ठूलो वर्षाको चपेटामा परेर काठमाडौँ उपत्यकाका ३८५ घरटहरा डुबेका छन् ।

विभिन्न स्थानीय नदीको वर्षे भेल निदाएका बखत घरभित्रै पसेपछि बिचल्लीमा परेका २४७ जनाको उद्धार गरिएको उहाँले प्रस्ट पार्नुभएको छ । बागमती, धोबीखोला, विष्णुमती, कर्मनाशा, हनुमन्ते, मनोहरा, नख्खु, बल्खुलगायतका खोलामा अकस्मात् भेल बढेको हो । बाढी बढ्दा यी खोलाका किनार क्षेत्रमा रहेका काठमाडौँको काँडाघारी, परोपकार क्षेत्र, बल्खु, सुन्दरीघाट, कालोपुल, भक्तपुरको मनोहरा फाँट, कीर्तिपुर, नदी छेउका सुकुम्बासी बस्ती, ललितपुरको सानेपालगायतका क्षेत्र डुबानमा परेको हो । उद्धारका क्रममा काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको हो । नदी तटीय क्षेत्र आसपासका बस्तीमा पानी पसेर जलमग्न भएपछि स्थानीयवासी रातभर जाग्राम बस्नु परेको थियो ।

छ जनाको मृत्यु
अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी सोमबार देशका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको छ । पहिरोले रोल्पामा दुई जना र जाजरकोटमा एक जना, बाढीले मकवानपुरमा दुई जना र प्युठानमा अविरल वर्षाको चपेटामा परेर एक जना गरी
छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोमा परेर अन्य चारजना घाइते भएका छन् । मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोका कारण १२९ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना बेपत्ता हुनुका साथै १२७ जना घाइते भएका छन् । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस