सुदूरपश्चिममा नेकपा एस सबैभन्दा ठूलो दल बन्यो, एमाले चौथो दलमा खुम्चियो

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १६ : २१
सुदूरपश्चिममा नेकपा एस सबैभन्दा ठूलो दल बन्यो, एमाले चौथो दलमा खुम्चियो

धनगढी । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ ।आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै १४ पुगेको हो । यसअघि १३ प्रदेशसभाका सांसदले नेकपा एमाले छोड्दै नवगठित समाजवादीमा सनाखत गरेका थिए । तामाङ आएसँगै नेकपा एस १४ सांसदसहित सुदूरपश्चिम प्रदेसभामा सबैभन्दा ठूलो दल बनेको हो ।

साविकको सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमाले भने १० सांसदसहित चौथो दलका रुपमा खुम्चिएको छ । एमालेबाट निर्वाचित बझाङका सांसद अर्जुन बहादुर सिंह भने हाल सभामुख रहेका छन् । 

सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १३ सहित दोस्रो र नेपाली कांग्रेस १२ सांसदसहित तेस्रो दल बनेको छ । जनता समाजवादी पार्टीमा सुदूरपश्चिममा २ जना सांसद रहेका छन् । 

नेकपा एस रोज्नेहरुमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । 

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने जनाएका छन् ।

सुदूरपश्चिममा विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए । उनीहरुले नेकपा एमालेमै रहने बताएका छन् ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म दल रोज्न पाउने छन् । 

प्रतिक्रिया दिनुहोस