अर्मेनियाको पोष्टमा जर्मनले गर्‍यो आधा दर्जन गोल

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १२ : ५५
अर्मेनियाको पोष्टमा जर्मनले गर्‍यो आधा दर्जन गोल

काठमाडौं । फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्कोडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । 

गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले दुई तथा मार्को रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १-१ गोल गरे । 

पहिलो हाफमा ४ गोल गरेको हान्स डियटर फ्लिकको टोलीले दोसो हाफमा थप २ गोल गरेको हो । जर्मन प्रशिक्षकको रूपमा फ्लिकको यो दोस्रो खेल हो । जितसँगै जर्मन समूह जेुमा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

पाँच खेलबाट नौ अंकसहित रोमानिया तेस्रो, पाँच खेलबाट आठ अंकसहित नर्थ म्यासेडोनिया चौथो, पाँच खेलबाट चार अंकसहित आईसल्याण्ड पाँचौ र पाँच खेलबाट कुनै अंक बनाउन नसकेको लेक्टेनस्टाईन तालिकाका पुछारमा छ । 

राति नै भएको समूह जेुको अर्को खेलमा रोमानियाले लेक्टेनस्टाइनलाई २-० गोल अन्तरले पराजित गर्‍यो । रोनानियाको जितमा एलिन टोस्का र  क्रिष्टियन मानेयाले १-१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस