नेकपा एमालेमा माधव नेपाल छोडेर जानेहरुबाटै विद्रोहको चेतावनी, जेठ २ मा नफर्किए पार्टी धरापमा

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, २० : ०७
नेकपा एमालेमा माधव नेपाल छोडेर जानेहरुबाटै विद्रोहको चेतावनी, जेठ २ मा नफर्किए पार्टी धरापमा

काठमाडौँ । नेकपा एमालेमा फेरि दोस्रो पुस्ताको विद्रोह हुने लक्षणहरु एकपछि अर्को गरी देखिन थालेको छ । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा एमालेमा फेरि विद्रोहका बाछिटाहरु देखिएका छन् । १० बुँदे सहमति कार्यान्वयनलाई लिएर अध्यक्ष ओली र तत्कालीन नेपाल समूहका नेताहरुबीच खटपट शुरु भएको हो ।

लामो समय नेपाल समूहमा रहेका तर, पार्टी विभाजनमा नलागेका नेताहरुलाई एमालेमै फर्काउन अध्यक्ष ओलीले १० बुँदे सहमति गरेका थिए । उक्त सहमति एमालेको स्थायी समिति र केन्द्रीय समितिले अनुमोदनसमेत गरिसकेको छ । तर, सहमति कार्यान्वयनको प्रारम्भिक चरणमै दुईपक्षबीच असमझदारी देखिन थालेको छ ।

सहमति कार्यान्वयनमा अध्यक्ष ओली प्रतिबद्ध नदेखिएको भन्दै ‘तेस्रो धार’ भनेर चिनिएको समूहले २२ गतेभित्र ‘बोल्ड डिसिजन’ गर्ने तयारी गरिरहेको एक जना नेताले दाबी गरेका छन् । त्यसो त, विगतमा पनि अध्यक्ष ओलीमाथि आफैंले गरेका सहमति कार्यान्वयन नगरेको आरोप लाग्दै आएको थियो । अहिलेको १० बुँदे सहमति कार्यान्वयनमा पनि ओली उदासीन बनेको आरोप लागेको छ ।

एमालेमा विवाद चर्किंदै जाँदा माधवकुमार नेपालसमेतको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिको मूल ‘स्पिरिट’ एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने भनिएको थियो । तर, जेठ २ का सांगठनिक संरचना ब्युँताउन र ‘तेस्रो धार’ का नेताहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली अनिच्छुक देखिएपछि लफडा शुरु भएको हो । जेठ २ मा फर्किएको भनिए पनि पुस ५ गते पछि ओली पक्षले गरेको सांगठनिक पुनर्गठन र नेताहरुको जिम्मेवारीलाई नै निरन्तरता दिन थालिएपछि विद्रोहसम्मको आवाज उठ्न थालेको बताइन्छ ।

उदाहरणका लागि एमाले जेठ २ मा फर्किंदा नेता योगेश भट्टराई स्वतः पार्टीको प्रवक्ता हुनुपर्ने हो, तर फागुन २३ पछि जिम्मेवारी दिइएका प्रदीप ज्ञवालीलाई नै प्रवक्तामा निरन्तरता गराइएको छ । त्यस्तै, प्रदेशका इञ्चार्ज कोको हुन् भन्नेमा पनि लडाइँ सुरु भइसकेको छ ।

फागुन २३ पछि माओवादीबाट एमालेमा आएका लेखराज भट्टले आफू एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम रहेको दाबी गरेका छन् । बैठकले जे निर्णय गरे पनि आफूलाई नै इञ्चार्जमा निरन्तरता दिन ओलीसमेत सहमत भएको भट्टले दाबी गरेका छन् । तर, जेठ २ अनुसार जिम्मेवारी तोकिँदा त्यहाँको इञ्चार्ज भीम रावल हुन् । प्रदेश १ मा पनि त्यस्तै देखिएको छ । ओली पक्षका धेरै नेताले भीम आचार्यलाई इञ्चार्ज अस्वीकार गर्ने बताइसकेका छन् ।

हिजो मात्रै एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को एकलौटी भेला बोलाइएपछि ‘तेस्रो धार’ थप सशंकित बनेको छ । संगठनका इञ्चार्ज र अध्यक्षलाई खबरै नगरी एकाएक भेला बोलाइएपछि ‘तेस्रो धार’ का नेताहरु छुट्टै छलफलमा जुटेका छन् । पीपीएलएका इञ्चार्ज रघुजी पन्त हुन् भने अध्यक्ष रुद्र नेपाल हुन् । उनीहरु दुवै जना विगतमा माधव नेपाल पक्षमा खुलेर लागेका थिए ।

इञ्चार्ज पन्त र अध्यक्ष नेपालले हिजोको भेला रोक्न अघिल्लो दिन निर्देशन समेत दिएका थिए । तर, हिजोको भेला रोकिएन, बरु भेलामा पुगेका ओली निकट नेता सुवास नेम्वाङले पार्टी विभाजनको औचित्य नरहेको भन्दै माधव नेपाल र समाजवादीमा गएका नेताहरुको चर्को आलोचना गरेका थिए । अध्यक्ष नेपालले १० बुँदे सहमतिले निर्देश गरेअनुरुप पार्टीका सबै संगठनिक संरचनालाई २०७५ जेठ २ मा फर्काउने र पूर्ववत जिम्मेवारी दिने कुरामा कसैले पनि अलमल गर्नु हुँदैन । यदि त्यस्तो भयो भने पार्टी एकता फेरि पनि धरापमा पर्ने चेतावनी दिएका छन् । 

उनले जेठ २ मा फर्किने भनेर निर्णय गरिसकेपछि पार्टीका सबै संरचना र नेताहरुको जिम्मेवारी पनि जेठ २ मा नै फर्किने बताएका छन्, तर कार्यान्वयनमा समस्या भइरहेको उनी स्वीकार्छन् ।

प्रतिक्रिया दिनुहोस