मन्त्रीमाथि बलात्कार आरोपः सरकार र सत्ता साझेदार दल मौन

पत्रपत्रिकाबाट

आइतबार, १३ भदौ २०७८, ०७ : ४५
मन्त्रीमाथि बलात्कार आरोपः सरकार र सत्ता साझेदार दल मौन

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले महिलालाई बलात्कार गर्दै गरेको भिडियो सार्वजनिक भएको साता पुग्न लाग्दा पनि प्रदेश सरकार र सत्ता साझेदार दल मौन छ।

बलात्कार घटनामा प्रदेश सरकारको धारणा माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीलाई पटक–पटक फोन तथा एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहँदैनन्।  

तथ्य प्रमाणसहित समाचार सार्वजनिक भएको साता पुग्न लाग्दा पनि सरकारको धारणा नआउनुलाई धेरैले मन्त्रीलाई बचाउने खेलको रुपमा बुझेका छन्। नेकपा एमालेबाट निर्वाचित सांसद शाहीले गत वैशाखमा दलीय ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको सरकार जोगाइदिएका थिए। लगत्तै मुख्यमन्त्री शाहीले विमला केसीलाई राजीनामा गर्न लगाएर शाहीलाई कृषि मन्त्री बनाएका थिए।  

कर्णालीमा क्रियाशिल नागरिक संघ–संस्थाहरुले सरकार र समाजको नेतृत्व गर्ने राजनीतिक दलहरु र सरकारले दण्डहिनतालाई प्रश्रय दिएको आरोप लगाएका छन्।

‘कर्णाली प्रदेश सरकारका कृषि मन्त्री शाहीलाई एक महिलामाथि बलात्कार गरेको आरोप लागेको समाचार आइरहेका छन्,’ विभिन्न नौ वटा नागरिक संघ–संस्थाहरुले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा प्रदेश सरकार र यहाँका दलहरु गम्भीर नभएको पाइयो।’नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस