भरतपुर महानगरपालिकामा पिपिपी मोडेलमा ‘भरतपुर मेट्रो प्लाजा’को निर्माण सुरु, ३ वर्षभित्रै सञ्चालनमा

चितवनको विकास राष्ट्रको विकासको मोडल बन्ने प्रचण्डको दावी

प्रकाश सिग्देल

बुधबार, ०९ भदौ २०७८, १६ : ३६
भरतपुर महानगरपालिकामा पिपिपी मोडेलमा ‘भरतपुर मेट्रो प्लाजा’को निर्माण सुरु, ३ वर्षभित्रै सञ्चालनमा

चितवन । भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरे ।

सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको हो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए ।

उनका अनुसार यो भवनमा चिड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायतका संरचनाहरु रहने छन् । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको भवन बन्ने छ । उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करिब २ अर्ब लगानीमा भवन निर्माण हुन लागेको हो ।

बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि : प्रचण्ड

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवन भरतपुरका जनताको चेतना, संस्कार र सम्यतालाई प्रतिबिम्बित गर्ने प्रोजेक्ट भएको बताए । यसले दिने सन्देश पनि बहुआयामिक हुने उनको भनाइ छ । यसको निर्माणसँगै यसले  चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमुना मोडलको रुपमा विकास हुने दाबी गरे  ।

निजी क्षेत्रको साधन स्रोत र क्षमतालाई राज्यले सदुपयोग नगर्दासम्म देशको विकास नहुने बताउँदै दाहालले देशको विकासलाई तीव्रता दिन निजी क्षेत्रको साधन स्रोत र क्षमतालाई राज्यले सदुपयोग गर्न अलि छाती ठूलो बनाएर मुठी खोलेर उदार मन बनाउनुपर्ने तर्क गरे  ।

बिगतमा निजी क्षेत्रप्रति राज्य उदार नभएकाले विकास नभएको र अब राज्य निजी क्षेत्रका हकमा धेरै उदार हुने र यसले गर्दा देशमा ठूला ठूला प्रोजेक्टहरु सञ्चालन हुने उनको भनाइ छ । यो महानगरमा विकासको प्रचुर सम्भावना भएको बताउँदै दाहालले यसलाई समयमै निर्माण गरी थप नयाँनयाँ गौरवका आयोजनाहरु पनि अब सरकारले अगाडि बढाउने दाबी गरे ।  

यो परियोजना सार्वजनिक निजी साझेदारीको नयाँ सन्देश भएको र यो शिलान्यास गर्न पाउँदा गर्भ लागेको उनको भनाइ छ । आफनो बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि प्रयोग गर्ने पनि दाहालले बताए । दाहालले चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना भएको र चाहनाअनुसार नयाँ फड्को मार्ने दावी पनि गरे । विकासको मुहार फेर्न सबै एकजुट हुनुको विकल््प नभएको पनि दाहालको भनाइ छ ।

महानगरको विकासको संकल्पलाई अगाडि बढायौँ  : मेयर दाहाल

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाले आधुनिक सहरको सोच बोकेर आफुहरु अगाडि बढेको र महानगरमा धेरै विकास भएको बताइन् । आफूहरु निरन्तर सधैँ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ थियो । आफू र आफनो टिम निर्वाचित भएर आउँदा  अवसरसँगै धेरै चुनौती रहेको र ती सबै चुनौतीहरुको सामाना गर्दै हरेस नखाई महानगरको विकासको संकल्पलाई अगाडि बढाएर आएको दाहालले बताइन् ।

अहिले महानगरपालिकाको विकास देखेर निकै गर्भको अनुभुति भएको बताउँदै दाहालले सबैको साथ सहयोग र तत्परताबाटै महानगरमा यति बिकास सम्भव भएको बताइन् । निजी क्षेत्र र यहाँका स्थानीयको राय र सुझावका आधारमा स्थानीयलाई  बिकासको साझेदार बनाएर पुर्वाधार निर्माण, ६ लेनको सडक, लिंक रोड  रिंग रोड, सिटि हल रंगशाला निर्माणलगायतका गौरवका परियोजनाहरु निर्माणमा आफूहरु अहोरात्र खटिएको उनको भनाइ छ ।

यो भवन महानगरले पहिला आफँै बनाउने भन्ने मनसाय राखे पनि पछि निजी क्षेत्रलाई आह्वान गरेर लगानीमैत्री बातावरण बनाउनुपर्छ भन्ने राय र सुझाव आएपछि निजी क्षेत्रलाई यसको जिम्मा दिएको उनको भनाइ थियो । महानगरमा सार्वजनिक निजी प्रवद्र्धन इकाइ खडा गरेर परामर्शदाता र  निजी क्षेत्रसँग बारम्बार छलफल गरिसकेपछि यही नै उत्तम विकल्प देखापरेकाले आफूहरु यतातर्फ लागेको उनको भनाइ थियो ।

महानगरबासीले गौरव गर्ने महत्वपूर्ण योजना : उपप्रमुख ठकुरी

कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरबासीले गौरव गर्ने महत्वपुर्ण योजना भरतपुरमा बन्न लागेको बताइन् । शुभकार्य र समय भएको भन्दै ठकुरीले महिलाले अवसर पाए पुरुषले भन्दा धेरै राम्रो गर्न सक्छन भन्ने कुरा भरतपुर महानगरबाट प्रमाणीत भइसकेको दाबी गरिन् । यो भवन समय अबधि भित्रै निर्माण गर्न पनि निर्माण कम्पनीलाई आग्रह गरिन् ।

३० वर्षमा महानगरले पाउँछ ८२ करोड

भवन निर्माण हुनु महानगरका लागी निकै फलदायी हुने महानगरका बरिष्ठ इन्जिनिर्यस् भरतकुमार आचार्यले बताए । महानगरले ३० वर्षमा करिब ८२ करोड राजस्व पाउने महानगरका वरिष्ठ इञ्जिनियर आचार्यको भनाइ छ । उनका अनुसार पहिलो वर्ष ३० लाख, दोस्रोे वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिइनेछ । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्वसहित १ करोड ५३ लाख ७५ हजार रुपैयाँ लिनेछ । उनले राजस्व हरेक २ वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए ।

२०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो । महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका १ सय सटरहरु सञ्चालनमा थिए । मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने आचार्यको भनाइ छ ।
भरतपुर महानगरले सुरुमा यो प्रकारको भवन आफँै बनाउने योजना बनाए पनि पछि आएर निजी क्षेत्रको लगानीमा डिजाइन, निर्माण, सञ्चालन, व्यवस्थापन र हस्तान्तरण गर्ने गरी भरतपुर मेट्रो प्लाजा निर्माण गर्ने नीति तथा कार्यक्रम तयार पारेको हो ।

महानगरको विकासबाट सन्तुष्ट छौँ : कांग्रेस सभापति श्रेष्ठ

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले चितवनको विकास आफूहरुले सोचेभन्दा पनि बढी भएको भन्दै मेयरसहितको टिमलाई धन्यबाद व्यक्त गरे । कांग्रेसले जहिले र जुनसुकै अवस्थामा पनि महानगरको विकासको काममा सहयोग गरिरहेको र विकासमा सबैजना एक मत भएर अगाडि बढ्नुपर्ने बताए । सत्तामा को पुग्यो ? को पुगेन ? भन्दा पनि विकास कसले कसरी गरिरहेको छ त्यो महत्वपुर्ण कुरा हुने बताउँदै श्रेष्ठले महानगरको विकासमा कांग्रेस सधैँ सहयोगी रहने बताए ।

यस्ता परियोजना देशभर बन्नुपर्छ : परामर्श दाता

सार्वजनिक निजी साझेदारीसम्बन्धी परामर्श दिँदै आएको भिरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तले भरतपुर महानगरले सुरु गरेको यो परियोजना संघ प्रदेश र पालिकाहरुले अनुसरण गर्दै देशैभर यस्ता परियोजना निर्माण र सन्चालन गर्नु आवस्यक रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल मेयर रेनु दाहालको नेतृत्वमा भरतपुर महानगरमा अकल्पनीय रुपमा विकास भएको बताए । उनीहरुले यो भवनले चितवनको विकासमा अर्को फड्को मार्ने दाबी गर्दै मेयर रेनु दाहालको कार्य कौशलताको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस