अफगानिस्तानबाट फर्किए ७ सय ७० नेपाली

पत्रपत्रिकाबाट

बुधबार, ०९ भदौ २०७८, ०८ : २७
अफगानिस्तानबाट फर्किए ७ सय ७० नेपाली

काठमाडौँ । नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरि ११२ स्वदेश फर्किएका छन् ।

मन्त्रालयले अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरुलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको जनाएको छ ।

मन्त्रालयले काबुलमा नागरिक उड्‌डयन सेवाको जहाजको आगमन(अवतरण हालसम्म खुला नभइसकेकाले नेपालले आफ्नै विमान पठाएर त्यहाँ रहेका नेपालीको उद्धार गर्ने अवस्था नरहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।

उनले अहिलेका लागि नेपालले अन्य मुलुकहरुको सहयोगमा नै आफ्ना नागरिकलाई उद्धार गर्नुको विकल्प नरहेको पनि बताए । नेपाल सरकारले अहिलेसम्म अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरे पनि हालसम्म कति नेपाली छन् भन्ने तथ्यांक संकलन गर्न सकेको छैन ।