धितोपत्र बोर्डका अध्यक्षलाई कारवाही नगर्न शीतलनिवासको लविइङ

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १९ : २५
धितोपत्र बोर्डका अध्यक्षलाई कारवाही नगर्न शीतलनिवासको लविइङ

काठमाडौं । गलत तरिकाले नियामक निकायमा रहेका मानिसले नै साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको ठूलो मात्रामा शेयर खरिद गरेका दुई व्यक्तिलाई जोगाउन यतिबेला राष्ट्रपति कार्यालय सक्रिय भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक उक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गैरकानुनी रुपमा सर्वोत्तम सिमेन्टको १०÷ १० हजार कित्ता शेयर खरिद गरेका थिए ।  ती मध्ये ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट बोर्डको अध्यक्ष बनेका हुन् । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल उनलाई बोर्डको अध्यक्ष बनाउन चाहदैन थिए ।

तर, राष्ट्रपति भण्डारीले जसरी भएपनि ढुंगानालाई अध्यक्ष बनाउन दबाव दिइन् ।  राष्ट्रपतिले भनेको भन्दै तत्कालीन प्रधानमन्त्री खड्ग ओलीले त कुरा काटने अवस्था नै थिएन । किनकी, ओलीका लागि सबैभन्दा खास मानिस नै भण्डारी नै रहेका जानकारहरुको बुझाइ छ । सोही आधारमा ढुंगाना बोर्डको अध्यक्षमा नियुक्त भए । तर, नियामक निकायमा बसेका मानिसले नै कानूनको वर्खीलाप हुने गरी शेयर खरिद गरे । छोरी रेविका ढुंगानाको नाममा उनले १० हजार कित्ता शेयर खरिद गरेका थिए । बोनस समेत जोड्दा त्यो शेयर यतिबेला ११ हजार कित्ता भन्दा माथि पुगेको छ । 

जताबाट पनि मिलाउन जानेका ढुंगानाले सबैलाई शेयर दिलाउन पहल गरे । त्यसमा ग्लोबल आईएमई समूहका चन्द्रप्रसाद ढकाल पनि जोडिए । ठूला लगानीकर्ता भनेर चिनिएका अम्बिका प्रसाद पौडेल पनि जोडिए । सबैलाई मिलाएर शेयर खरिद गर्ने र बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई शेयर बिक्री गराउने र अकूत कमाउने उनीहरुको योजना थियो ।

ढुंगानाको ज्यादतीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अर्थमन्त्रालयले तीन दिने मिति राखेर ढुंगानालाई अर्थले स्पष्टिकरण सोध्यो । तर, हालसम्म उनीमाथि कुनै कारवाही हुन सकेको छैन । कारवाही किन हुन सकेन भन्ने बारेमा आम चासो बढीरहेको छ । आर्थिक अपराध गरेकालाई किन कारवाही नभएको भन्दै सरोकारवालाले अर्थ मन्त्रालयमाथि प्रश्न उठाउन थालेका छन् । 

तर, जानकार स्रोतहरुका अनुसार अध्यक्ष ढुंगानालाई कारावाही नगर्न राष्ट्रपति कार्यालय र विशेष गरी राष्ट्रपति भण्डारीले कारवाही नगरिदिन अर्थ मन्त्रालयका वरिष्ठ कर्मचारीलाई दबाव दिएको बताइएको छ । नेपाल राष्ट्र बैंकमा रहँदा २ हजार ५०० रुपैयाँको एउटा बिलका लागि पटक पटक पटक गरेर भुक्तानी लिएका ढुंगानाले नेपालको शेयर बजारलाई खोक्रो बनाएर छाड्न लागेको भन्दै चार्तर्फी आलोचना भइरहेको छ । तर राष्ट्रपतिबाटै कारवाही गरिए राम्रो नहुने भन्दै अर्थका कर्मचारीलाई चेतावनी दिनु र यो सन्देश मन्त्रीसम्म पु¥याइदिनु भन्ने समेत गरिएको छ । 

सामान्यतया नियमक निकायमा रहेका कोही कसैले पनि संसारभर नै विवादमा पर्ने काम गर्दैनन् । नैतिक आचरणमा बस्छन् र अरुलाई पनि सोही अनुसार क्रियाशिल हुन आग्रह गर्छन । कानून कार्यान्वयन गराउने निकायमा उच्च नैतिकवान मानिस चाहिन्छ भन्नुको ध्येय पनि त्यही हो । तर, ढुंगानाले जे जसरी कानुन हालतमा लिने काम गरे, यसले कोही कसैलाई पनि राम्रो गरेको छैन । 

जानकारहरुका अनुसार अध्यक्ष ढुंगानाले अन्य कम्पनीको समेत त्यसैगरी गोल्डेन शेयर लिएको हुन सक्ने अनुमान छ । थप केही कम्पनीको पनि बुक बिल्डिङ विधिबाट साधारण शेयर बिक्रीको तयारी भइरहेको छ । ती कम्पनीको शेयरमा समेत उनले चासो राखेको बोर्डका एक उच्चापदस्थ कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार अध्यक्षज्यूले झण्डै एक दर्जन बढी कम्पनीको गोल्डेन शेयर  उठाएको बजारमा चर्चा छ । तर, ती कम्पनी कुन कुन हुन् भन्ने बारेमा उनले केही बताएनन् । सर्वोत्तम सिमेन्ट जस्तै, अन्य केही सिमेन्ट उद्योगले समेत साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती सबै कम्पनीको अध्यक्ष ढुंगानाले गोल्डेन शेयर लिएका छन् । 

उता नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले आफूलाई कोही कसैले कारवाही गर्न नसक्ने भन्दै अर्थमन्त्रालय आफनो सामु निरिह रहेको बताउने गरेका छन् । उनले प्रधानमन्त्री आफ्ने पार्टीको भएकाले पनि अर्थमन्त्रीले केही गर्न नसक्ने उनको दावी छ । 

नेप्सेको कार्यालयका काँग्रेस निकट कर्मचारी भेला पारेर उनले आफूलाई कोही कसैले कारवाही गर्न नसक्ने भन्दै गफ दिएर बस्ने गरेका छन् । साउदको नियमित बैठकमा सहभागी हुने एक कर्मचारीका अनुसार उनले अर्थमन्त्रीमा सामान्य अर्थशास्त्रको समेत ज्ञान नभएको र शेयर बजारको बारेमा श पनि थाहा नभएको भन्दै आफूलाई के आधारमा कारवाही गर्ने भन्न समेत भ्याएका छन् । कहिले काँग्रेस, कहिले नयाँ शक्ति, कहिले एमाले समेत बनेका साउदको कार्यकाल अब दुई महिना मात्रै बाँकी रहेको छ । ‘मेरा कार्यकाल पनि बाँकी छैन, अब मलाई कसैले हटाउन पनि सक्देन । मलाइ दिए, मैले शेयर किने, यसमा के को गल्ती भयो र भन्दै उनले कोही कसैले सोध्ने स्पष्टिकरणले आफूलाई केही फरक पर्दैन ’ उनले भन्ने गरेका छन् ।  

उता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा सरकारले आफनो मानमर्दन गरेको भन्दै खड्ग ओली निवास बालकोट पुगेर गुनासो गरेका छन् । ‘तपाईले मलाई गभर्नर बनाउनुभयो, यतिबेला, सरकारले मेरो मानमर्दन गरिरहेको छ । कहिले परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गरेको भनेको छ, कहिले राजीनामा देऊ भनेको छ, कहिले के भनेको छ कहिले के भन्दै अब के गर्ने होला हजुर ?’ भन्न भ्याएका छन् । उनले काम गर्ने वातावरण नभएको, सधै मानमर्दनमा बस्नु परेको समेत बताएका छन् । 

पछिल्ला दिनमा गभर्नरको भूमिकालाई लिएर पनि आम रुपमा आलोचना भइरहेको छ । उनले देशको महत्वपूर्ण सूचना सम्बन्ध नै नभएका मानिसलाई चुहाउने गरेका छन् । हरेक दिन जसो काार्यालय समयपछि अधिकारी खड्ग ओलीको निवामसा खातिरदारीका लागि पुग्ने गरेको स्रोतको दावी छ । यसबारेमा गभर्नर अधिकारीलाई सोध्दा आफू बाटो परेर पूर्व प्रधानमन्त्री निवास पुगेको बताउने गरेका छन् । 

ओलीले अधिकारीलाई आफनो खचाञ्जीका रुपमा नियुक्त गरेको चर्चा लामै समयदेखि चलेको थियो ।अरु मानिस नै नभएजसरी लगानी बोर्डको प्मुख कार्यकारी अधिकृतको जागिर छोडाएर उनलाई नियुक्त गरिएको थियो । 

सरकारको काम गर्न छाडेर हरेक दिन जसो अधिकारी किन बालकोट जाने गरेका होलान् भनेर नेपाल राष्ट्र बैंकका कर्मचारी समेत चित खाएका छन् । राष्ट्र बैंकको आवश्यक काम नगर्ने, सुधारको क्षेत्रमा नलाग्ने, बरु ओलीका लागि जे पनि गर्न तयार देखिएका अधिकारीले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने माग पनि बेलाबेला उठन थालेको छ । 

सरकारको लक्ष्य एकातिर छ, सरकारको योजना छ , त्यसलाई कार्यान्वयन गर्नु त परै, जाओस् बरु ओलीको चाकडी गर्नु नै उनको खास धन्दा बनीरहेको अवस्थामा अब राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उनका लागि राम्रो हुने उनलाई चिन्ने जान्नेहरु बताउँछन् । पछिल्लो दिनमा बैंक तथा वित्तीय संस्थामा बढेको ज्यादती रोक्नका लागि समेत उनले पहल नगरी खुल्ला छाडिदिएका छन् । सोही कारण बैंकिङ क्षेत्रमा अराजकता मौलाएको छ ।  

प्रतिक्रिया दिनुहोस