धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पहिल्यै किन चुहाए शेयर बजारको सूचना ?

सूचना चुहिँदा मालामाल

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, ११ : ०७
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पहिल्यै किन चुहाए शेयर बजारको सूचना ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रहेका भीष्मराज ढुंगाना यतिबेला नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न पाएका छन् । राष्ट्र बैंकमा रहँदा विवादास्पद काम गरेको, गोप्य सूचना चुहाएको तथा भक्ता भनेपछि हुरुक्कै हुने ढुंगानाले पछिल्लो पटक शेयर बजारमा चलखेल भएको दावीसहित ५१ कम्पनीलाई कारवाहीको दायरामा ल्याएको बताए । 

शीतल निवासको कृपाबाट धितोपत्र बोर्डमा पुगेका उनले मंगलबार तामझाम गरेर वक्तव्यबाजी गरे । तर, वक्तव्यबाजी गर्नु अगावै बोर्डमा कार्यरत कर्मचारीलाई सूचना चुहाएर उनीहरुको शेयर बेचाए । बोर्डका एक कर्मचारीका अनुसार ढुंगानाले उक्त कारवाही सम्बन्धी सूचना सचिवालमार्फत बिहान ११ बजे नै चुहाएका थिए । बोर्डका कर्मचारीले आफन्तका नाममा रहेका शेयर समेत बिक्री गरेका थिए । 

जानकारहरुका अनुसार पछिल्ला दिनमा ढुंगानाले शेयर ब्रोकरहरु मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दिने भन्दै ३५ करोड बराबरको रकम उठाएको तथ्य पनि सार्वजनिक भएको छ । उनले अर्थमन्त्रीले बजार विस्तारका लागि महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको र त्यसका लागि केही सहयोग खोजेको भन्दै पैसा उठाएको स्रोतको दावी छ ।

ब्रोकर र शेयर बजारका ठूला खेलाडी मार्फत उनले पैसा उठाएका थिए । सो पैसा अर्थमन्त्रीले भनेर उठाएका थिए वा आफ्नै योजनमा उठाएका थिए, त्यो भने खुल्न सकेको छैन् । बजारबाट पैसा उठाएपनि उनले ५१ कम्पनीको शेयरमा चलखेल भएको भन्दै कारवाही गर्ने चेतावनी नै दिए ।

तर, उनले सार्वजनिक गरेका कम्पनीसहित अन्य कम्पनीको शेयरमा समेत राम्रै चलखेल भएको छ । अन्य ठूला कम्पनीमा भएको चलखेलका बारेमा बोर्डले केही बोलेको छैन । किनकी, ती कम्पनीसहित शेयर बजारमा कर्नरिङ भएको अब छिपेको विषय रहेको छैन् । केही ठुला लगानीकर्ताले बजारलाई क्रमशः धरासायी नै बनाएका छन् । एउटै कम्पनीको शेयरमा चर्को कर्नरिङ गरेर केहीले मोटो रकम कमाएका छन् । दोषीलाई कारवाही गर्नुपर्नेमा उल्टै नियामक निकायको प्रमुखले नै सूचना चुहाएर गैरकानूनी गतिविधि गरेको तथ्य सार्वजनिक भएको छ । 

साना शेयर लगानीकर्तालाई सधै दुःख दिने ब्रोकरलाई कारवाही गर्न समेत उनी डराएका छन् । पैसा लिएपछि नैतिक हिसाबले पनि कारवाही गर्नु भएन् । साना लगानीकर्ता मारमा पर्ने, बोर्डका अध्यक्ष पैसा उठाउने भएपनि नियामक निकायको मान तथा मर्यादा कहाँ गयो भन्ने बारेमा समेत चासो व्यक्त भएको छ ।

सो बारेमा बुझ्न बोर्डका अध्यक्ष ढुंगानासँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । सो बारेमा बुझ्न बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई सम्पर्क गर्दा उनले भने, खै अध्यक्षज्यूको कुरा प¥यो, हामीलाई थाहा हुने कुरा भएन भन्दै अरु विषयमा कुनै जवाफ दिएनन् । 
 

प्रतिक्रिया दिनुहोस