सेवाग्राहीले घरमै बसेर भरतपुर महानगरबाट भवन निर्माणको नक्सा पास गर्न सक्ने

स्मार्ट महानगर बनाउने अभियानमा निरन्तर लाग्दै मेयर रेनु दाहाल

प्रकाश सिग्देल

शुक्रबार, ०४ भदौ २०७८, १८ : ०५
सेवाग्राहीले घरमै बसेर भरतपुर महानगरबाट भवन निर्माणको नक्सा पास गर्न सक्ने

चितवन । भरतपुर महानगरपालिकाले नक्सा पास प्रक्रियालाई पेपर लेस बनाएको छ । सेवाग्राहीले नक्सा पास गर्न कागजी फाइल बोकेर प्राविधिकको टेवल धाउनुपर्ने घन्टौँसम्म लाइनमा कुरेर बसिरहनुपर्ने बिगतको बाध्यतालाई अन्त्य गर्न महानगर सफल बनेको हो ।

महानगरमा कार्यक्रमको आयोजना गरी अनलाइन भवन निर्माण अनुमती प्रक्रिया  पोर्टल घर नक्सा सफ्टवयरको शुभारम्भ गरिएको छ । महानगर प्रमुख मेयर रेनु दाहालले सफ्टवयरमार्फत १५ दिने सुचना सेवाग्राहीलाई उपलब्ध गराएर घर नक्सा सफ्टवयरको शुभारम्भ गरेकी हुन् ।   

भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालले करिव २० लाख खर्च लाग्ने सो सफ्टवयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको महानगरका वरिष्ठ इन्जिनियर्स सुर्यप्रकाश लामाले बताए । यो सफ्टवयरले घरमै बसेर नक्सा पास गर्न सकिने लामाले बताए ।

भुकम्प प्रबिधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित सहर र ब्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफट्वयरले महत्वपूर्ण भुमिका खेल्ने बताए । यो सफट्वयर बहुउपयोगी हुने र यसले कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र सेवाग्राही पनि फाइल बोकेर कार्यालयमा टेवल÷टेवल कर्मचारी खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।

यो सफट्वयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाएको सफट्वयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि १५ दिने सुचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ ।  

निर्माण पुरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डाटाका आधारमा सम्पन्नता को प्रमाणपत्र सेवाग्राहीले पाउने छन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जिपिएस लोकेसनसमेत एकिन गरेर स्मार्ट सहर बनाउन सहजता मिल्ने उनको भनाइ छ ।  अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सफट्वयरमा समाबेश छैन । यसलाई पनि केहीमहिना भित्र समावेश गर्ने योजना परामर्श दाता कम्पनीले बताएको छ ।

सफट्वयमा सेवाग्राहीको पनि पहुँच हुनुपर्छ : प्रवक्ता भण्डारी

कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले महानगरले अब हरेक काममा पेपर लेस प्रणालीको विकास गर्न लागेको बताए । सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अब अनलाइन प्रबिधिमा आफूहरु अगाडि बढ्न लागेको उनको भनाइ छ  ।  

अनलाइन भवन निर्माण अनुमति प्रक्रिया सफटवयर सन्चालनमा आएपछि यसले सेवाग्राहीलाई धेरै लाभ मिल्ने उनले बताए ।  यो सफटवयर सन्चालनसँगै आफनो काम कहाँ पुगेको छ ? केके भयो ? के कारणले ढिला भयो ? भनेर सेवाग्राहीले घरमै बसेर हेर्न मिल्ने ब्यवस्था पनि सफटवयरमा राख्न आवश्यक रहेको बताए ।
भण्डारीले भवन निर्माण आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गराउन प्राविधिकहरु सक्रिय बन्नुपर्ने पनि बताए ।

कामचोर प्रवृत्ति अन्त्य हुन्छ : प्रमुख प्रशासकीय अधिकृत

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सफट्वयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यामबाट सुशासन कायम हुने, आर्थिक पारदर्शीता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेवुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यता समेत अन्त्य हुने हँुदा काममा पनि छिटो बताए । उनका अनुसार यसले समयको पनि बचत हुने र काम चोर प्रवृत्ति पनि हट्ने खतिवडाको भनाइ छ ।  उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न महानगरले नीतिगत रुपमा आईपर्ने केही समस्या भए नीति बनाएर अगाडि बढ्नु आवश्यक रहेको बताए ।

सेवालाई प्रभावकारी र प्रबिधिमैत्री बनाउन महानगर प्रतिबद्ध : मेयर दाहाल

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिन सक्ने बातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई अनावस्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफुहरु अगाडि बढेको उनको भनाई छ  ।

महानगरको सुशासन कायम गर्दै विकास र सम्मृद्धिमा अगाडि बढाउन सेवा प्रवाहमा, छिटो, छरितो, चुस्त, दुरुस्त र पारदर्शी बनाउँदै जनताले चाहेअनुरुपको सेवा दिन महानगर प्रतिबद्ध रहेको र त्यही अन्तगत काम भइरहेको उनको भनाइ छ ।  नक्सा शुभारम्भले डिजिटल महानगर बनाउने उद्देश्यलाई पनि सार्थक बनाउने उनले बताइन् ।

यो शुभारम्भ भएसँगै कामप्रति कर्मचारीलाई थप जवाफदेही गराउने र सेवाग्राहीलाई यसले धेरै फाइदा पुग्ने उनको तर्क छ । अव यसलाई प्रभावकारी कार्यान्वयनमा महानगर लाग्ने र महानगर अव प्रविधिअनुरुप नै अगाडि बढ्ने उनले विश्वास दिलाइन् ।

प्रतिक्रिया दिनुहोस