संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह, अब बाटो परिवर्तन गरौं : कमल थापा

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १६ : ४२
संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह, अब बाटो परिवर्तन गरौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्य मागि पुनः प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभई व्यवस्था, नेता नभई नीति र चालक नभई बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिदै अध्यक्ष थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षता बारे पुनर्बिचार हुनुपर्ने बताए। थापाले पछिल्लो अध्यादेश प्रकरणले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तिव्र आलोचना गरे। सत्तारूढ दल काङ्ग्रेस फेरि आत्मघाती र फोहरि बाटोमा हिडेको थापाको कथन थियो ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरुसङ्ग आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशन सङ्गै स्थानीय निकाय निर्वाचन सम्बन्धि बिशेष कार्ययोजना प्रस्तुत गरे । आगामी दिनमा क्षेत्र, नगर, वडा सङ्गै बुथ कमिटी निर्माण प्राथमिकतामा पर्नुपर्ने भन्दै थापाले प्रशिक्षण ,घरदैलो, जनताको माझ राप्रपा अभियान र जनपरिचालन सघन रुपमा संचालन गर्नुपर्ने बताए।

बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका पदाधिकारी सदस्य, सचिवालय प्रमुख , नगर अध्यक्षहरु, स्थानीय निर्बाचनका प्रत्याशिहरु, निर्बाचित जनप्रतिनिधिहरुको सहभागी रहेको पार्टीका सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । यस्तै बैठक विभिन्न चरणमा संचालन हुँदै जाने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस