जसपा लोकतान्त्रिकको वरिष्ठ नेता बने राजेन्द्र महतो

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १७ : १९
जसपा लोकतान्त्रिकको वरिष्ठ नेता बने राजेन्द्र महतो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ ।

निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।

सो पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ भने दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने महतोको भनाइ छ । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।