चोरीका पाँच मोटर साइकलसहित चार पक्राउ

रासस

आइतबार, ३१ साउन २०७८, २० : ५६
चोरीका पाँच मोटर साइकलसहित चार पक्राउ

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिा–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट चोरी भएको पाँच मोटर साइकलसहित चार पक्राउ परेका छन् ।

प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री र उदयपुरको बेलका नगरपालिका–१० का २२ वर्षीय रामहरि श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आरोपितले शुक्रबार मध्यान्ह सप्तकोशी नगरपालिकास्थित त्रियुगा सहकारी संस्था अगाडिबाट मोटरसाइकल चोरी गरेका हुन् ।

उनीहरूको साथबाट प्रदेश १०५–००४ प.०४८४ नम्बरको पल्सर मोटर साइकल, प्रदेश १०२–०४१प.३४१८ नम्बरको बुलेट मोटरसाइकल, बा ९० प ३२७४ नम्बरको होण्डा एक्स आर मोटरसाइकल, प्रदेश २०३–०१३ प २०५७ नम्बरको टिभिएस अपाची मोटरसाइकल र स ७ प ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा पर्ने भलुवा चौकमा चोरीको मोटरसाइकल प्रदेश १०५–००४ प ०४८४ नम्बरको पल्सर मोटरसाइकल चढेर गइरहेका रामहरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि चोरीका अन्य मोटरसाइकल समेत बरामद भएको हो ।

प्रारम्भिक सोधपुध एंवम् अनसुन्धानका क्रममा पक्राउ परेका श्रेष्ठले आफूसमेत चार जनाको मिलेमतोमा मोटरसाइकल चोरी गरेको बयान दिए । अन्य आरोपितको नाम, ठेगाना खुलेपछि बिभिन्न मितिमा चोरी गरिएको मोटरसाईकलहरु बरामद गरी आरोपितहरुलाई पक्राउ गरिएको प्रनाउ काफ्लेले बताए । 

जिल्ला प्रहरी कार्यालय सप्तरीले चालू आव २०७८÷७९ को साउन महिनामा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेकामध्ये फरार रहेका ११८ जना आरोपित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबाट जम्मा कैद तीन वर्ष दुई महिना र जरिवाना रु १८ हजार ५८४ असुल भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस