ओलीको हुँदो गर्ने महाप्रसादको महाप्रलय !

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, ०८ : १५
ओलीको हुँदो गर्ने महाप्रसादको महाप्रलय !

काठमाडौं । खड्गप्रसाद ओलीको खचाञ्जीको भूमिकामा रहेका नेपाल राष्ट्र बैंकमा कागतालीले गर्भनर बनेका महाप्रसाद अधिकारीको पनि जागिर जाने निश्चितजस्तै भएको छ । केन्द्रीय बैंकले गर्नुपर्ने कुनै पनि भूमिका निर्वाह गर्न नसकेका उनले अझै पनि ओलीको लागि मात्रै हुने काम गरेको पाइएको छ । 

वर्तमान सरकारलाई नटेर्ने तथा कुनै पनि योजना कार्यान्वयन गर्दिन भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत नचिन्ने र नटेर्ने भन्दै धम्कीपूर्ण भाषासमेत बोल्ने गरेका छन् । सरकारलाई कसरी अप्ठ्यारोमा पार्न सकिन्छ भनेर उनले अनेकन तिकडम गरिरहेको बताइन्छ ।

कागतालीले गभर्नर बनेको भए पनि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनले कुनै पनि काम अगाडि बढाउन चाहेका छैनन् । सरकारलाई असफल बनाउने प्रमुख हतियारको रुपमा राष्ट्र बैंकलाई बन्धक बनाएका महाप्रसादको कार्यशैलीलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्री समेत हैरान भएका छन् ।

सरकारले कोरोना प्रभावितलाई केही न केही सहयोग गरौँ भनेर अगाडि सारेका कुनै पनि काम कारवाहीलाई सहयोग नगर्ने, केही नयाँ कार्यक्रम ल्याउने तरखर गरे कार्यान्वयन गर्नु त परै जाओस् सबै सूचना बालकोट पु-याएर अधिकारीले सरकारलाई पूर्ण रुपमा असहयोग गरेका छन् ।

ओलीले उठ्ती धन्दा चलाउने अभिप्रायले महाप्रसादलाई राम्रैसँग परिचालन गरेका थिए । अहिले पनि महाप्रसादले आफनो प्रधानमन्त्री ओली भएको, आफूलाई उनले नियुक्ति गरेको भन्दै देउवा नेतृत्वको सरकारलाई नमान्ने, नर्टेर्ने आफना निकटस्थहरुसँग बताउने गरेका छन् । राष्ट्र बैंकको कार्यकक्षमा बसेर उनले हरेक दिनजसो अर्थमन्त्री गुरिल्लाको कमाण्डर भएकाले अर्थतन्त्रको सामान्य ज्ञान समेत नभएको, पटकपटक प्रधानमन्त्री भए पनि देउवा स्वाँठ भएको, कुनै योजना कार्यक्रम र भिजनसमेत नभएको भन्दै कुरा काटेर बस्ने गरेका छन् ।  

जसरी भए पनि सरकारलाई समस्यामा पार्ने र ओलीको हुँदो गर्ने अधिकारीलाई कारबाहीको दायरामा ल्याउने तयारीमा सरकार रहेको बुझिएको छ । गभर्नरमा कार्यरत रहेका अधिकारीले सरकारसँग निहुँ खोज्नुको पछाडि उनको योग्यतासँग जोडिएको प्रश्न रहेको छ । जानकारहरुले पटकपटक उनको योग्यता गभर्नर बन्ने नरहेको बताएका छन् । खड्ग ओलीले योग्यता नै नभएको व्यक्तिलाई गभर्नर बनाएको भन्दै त्यतिबेला नै प्रश्न उठेको थियो । ओलीको हठका सामु कोही कसैको जोर नचलेका कारण त्यतिबेला चुप लागेकाहरु समेत यतिबेला योग्यताको प्रश्न उठाइरहेका छन् । 

गर्भनर अधिकारीको योग्यताको विषयलाई लिएर सरकारलाई विभिन्न निकायमा उजुरी परेपछि अर्थमन्त्रालयले उनलाई राजिनामा गर्न भनेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको शैलीमा महाप्रसादले समेत पैसा उठाउन थालेको स्रोतको दावी छ । आफू कमजोर भएपछि त्यसलाई ढाकछोप गर्न उनले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामार्फत पैसा उठाएर केही नेताको मुख थुन्ने प्रयास समेत गरेको बताइन्छ ।

देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै गभर्नर अधिकारीले बजेटको संशोधन र मौद्रिक नीतिमा ढिलाइ गरेको पाइएको छ । योग्यतामै प्रश्न उठाएपछि उनले राजीनामा दिने तयारी गरेका थिए । छाडिदिन्छु भन्ने निष्कर्षमा पुगेका अधिकारीले बालकोट पुगेर आफूलाई प्रधानमन्त्री र अर्थमन्त्रीले दबाव दिएर राजीनामा गर्न बाध्य बनाएको भन्दै रोइकराई गरेका थिए । 

अर्थमन्त्रीले बोलाउँदा सिंहदरबार आउन भ्याउदिनँ, बैंकमा काम छ भनेर नटेर्ने अधिकारी हरेकदिन बालकोट पुग्ने गरेको स्रोतको दावी छ । ‘तपाईँले अवसर दिनुभयो, काम गर्न पाए, तर मलाई हटाउन अनेकन खालका प्रयास भएका छन्, तपाईले नै नरोक्ने हो भने मैले राजीनामा दिएर हिँड्नुपर्ने भएको छ, के गरौँ ?’ भन्दै ओलीका सामु रोइकराई गरेको स्रोतको दावी छ ।

उनको नियुक्ति नै सन्देहमा परेपछि त्यसबाट जोगिन उनले अनेकन जालसाजी गरेको बताइन्छ । जानकार स्रोतहरुका अनुसार उनले आफनो योग्यताका विषयमा अनावश्यक हल्ला गरिएको भन्दै अर्थमन्त्रालयले नै असहयोग गरेको कुतर्क गरेका छन् । खड्ग ओलीले २०७६ चैत २४ गते अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेका थिए ।

गभर्नर नियुक्त हुुनुभन्दा अघि अधिकारी लगानी बोर्डको प्रमुुख कार्यकारी अधिकृत बसेर तर मारिरहेका थिए । एउटै व्यक्तिलाई छानीछानी अवसर दिएर ओलीले अरु काबिल मानिसलाई ढिम्कन नै दिएका थिएनन् । सो पदबाट उनले गभर्नर नियुक्त हुुनुभन्दा केही घण्टाअघि अर्थात् बिहान १० बजेतिर मात्रै राजीनामा दिएका थिए ।

गभर्नर छनौटको लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सिफारिस समितिको सिफारिसको आधारमा गभर्नर नियुक्त गर्ने प्रावधान छ । यसको लागि सरकारले गभर्नर छनौट समिति गठन गर्छ । महाप्रसाद अधिकारीलाई गभर्नर छनौट गर्नको लागि पनि पूर्वगभर्नर विजयनाथ भट्टराई र कृष्णहरि बाँस्कोटासहितको छनौट समिति गठन गरेको थियो ।

\२०७६ चैत २४ गते अधिकारीले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका थिए । सोलगत्तै गभर्नर नियुक्तिको सिफारिस समितिले औपचारिक बैठक गर्नुपर्ने थियो । तर त्यस दिन पूर्वगभर्नर विजयनाथ भट्टराईको घरमा नै नेपाल राष्ट्र बैंकको गभर्नरमा अधिकारीलाई नियुक्त गर्न सिफारिस गर्ने माइन्युट तयार गरिएको थियो । 

छनौट समितिमा रहेका एक सदस्यका अनुसार उक्त माइन्युट सोही दिन अपराह्न २ बजेतिर मन्त्रिपरिषदमा पेश गरिएको थियो । सोपश्चात् ४ बजे मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा महाप्रसादलाई नियुक्त ग-यो । अधिकारीले सोही दिन अर्थात् ४ः३० बजेतिर सर्वोच्च अदालतसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरका थिए । हतारहतार सबै काम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति र शैक्षिक योग्यतासम्बन्धी ऐनअनुुसार गभर्नर हुुनुको लागि स्नातकोत्तर गरेको हुुनुपर्छ । तर गभर्नर अधिकारीको शैक्षिक योग्यता ब्याचलर (स्नातक)सरह मात्र छ । चार्टर्ड एकाउन्टेन्ट पास गर्नु भनेको ब्याचलर पास गर्नुसरह मात्र हो । गभर्नर अधिकारीले स्नातकोत्तर गरेका छैनन् । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले सहायक पदबाट सेवा प्रवेश गरेका थिए । त्यसपछि सिनियर एसिस्टेन्ट भएका अधिकारीले प्लस टुु मात्र पास गरेका थिए ।

प्लस टुु मात्र पास गरेका अधिकारी राष्ट्र बैंकको आन्तरिक बढुुवाबाट सिनियर एसिस्टेन्ट भएपछि चार्टर्ड एकाउन्टेन्टको तीन वर्षे कोर्ष पूरा गर्न भारत गएका थिए । उक्त कोर्ष पूरा गरेर चार्टर्ड एकाउन्टेन्ट भएर अधिकारी राष्ट्र बैंक फर्केका थिए । आइकम मात्र गरेर भारत गई सीएको तीन वर्षे कोर्स गरेका गभर्नर अधिकारीको शैक्षिक योग्यता बीए सरह मात्र रहेको देखिन्छ । सो योग्यताले गभर्नर हुन नमिल्ने जानकारहरुको भनाइ छ ।

तोकिएको योग्यता अनुसार स्नातकोत्तर हुुनको लागि बीएस पास गरेर चार्टर्ड एकाउन्टेन्टको तीन वर्षे कोर्ष पूरा गरेको हुुनुपर्ने प्रावधान छ । तर गभर्नर अधिकारीको हकमा त्यो योग्यता पुगेको छैन । त्यही भएर पनि अहिले अर्थ मन्त्रालयमा गभर्नर अधिकारीको शैक्षिक योग्यतासम्बन्धी चर्चा व्यापक चलेको छ । ‘मौद्रिक नीति सार्वजनिक हुुनुमा ढिलासुस्तीको प्रमुख कारण संशोधित बजेट होइन, गभर्नर अधिकारीको शैक्षिक योग्यता हो’, स्रोतले भनेको छ ।

सरकारले दिएको निर्देशन कार्यान्वयन नगर्ने, प्रधानमन्त्री र अर्थमन्त्रीलाई हेला होचो गर्नेलाई पदमा राखेर सरकारले अपेक्षा गरे अनुसारको काम नहुने भएकाले उनलाई राजीनामा गर्न सरकारले सुझाएको छ । सरकारलाई असहयोग गरेपछि उनलाई पदमा रहेर काम गर्न पनि नैतिकताले दिँदैन होला । बैंक तथा वित्तीय संस्थामा चरम अराजकता बढेर गएको छ । समस्यामा परेका संस्थालाई नियमअनुसार कारवाहीको दायरामा ल्याउनु त परै जाओस्, बरु ती संस्थाका मानिससँग मिलेर अधिकारी र उनका दुई झापाली डेपुटी गभर्नरले पैसा कमाउने मेलो मिलाएका छन् ।

कारवाही त कुन चराको नाम जस्तै भएको छ । पछिल्लो पटक सेञ्चुरी बैंकमा भइरहेको अराजकता नियन्त्रण गर्न समेत राष्ट्र बैंक असफल भएको छ । उनीहरुको ध्येय जसरी पनि पैसा कमाउनु भएकाले सो बैंकको अराजकतामा आँखा चिम्लिएको बताइन्छ । यसबारेमा बुझ्न पटकपटक गभर्नर अधिकारीसँग बुझ्न फोन गर्दा समेत उनी सम्पर्कमा आएनन् । 

प्रतिक्रिया दिनुहोस