विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

रासस

विहीबार, २८ साउन २०७८, १२ : ५४
विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

चितवन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो । 

त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ । राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ । 

नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गर्नुभएका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउछन । यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो । 

यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहनुभएका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउछन । पर्साको चारकोशे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उनले भने, “रामायण र महाभारत जस्ता ग्रन्थहरुमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ ।” हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ । 

यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ । पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउछन ।

 यादवले भने “हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे ।” निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन् । तीमध्ये १६ वटामा हात्ती रहेका छन् । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउछन । वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ । अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतकाकार्य हात्तीले गर्दै आएका छन् । 

वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन् । तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन् । हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस