स्वास्थ्य मापदण्ड पालनाबिनै ३ सिफ्टमा परीक्षा

पत्रपत्रिकाबाट

सोमबार, २५ साउन २०७८, ०७ : ४२
स्वास्थ्य मापदण्ड पालनाबिनै ३ सिफ्टमा परीक्षा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन ।

परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन । त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्माले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु त्रिविको गलत नियत भएको आरोप लगाए । उन भने–‘कि त स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्नुपर्‍यो, कि अनलाइन वा अन्य वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नुपर्‍यो ।’

राजधानीकै सबैभन्दा धेरै परीक्षार्थी भएको पाटन क्याम्पसमा आइतबार ठूलै भीड थियो । काभ्रेको बनेपादेखि राजधानीका अधिकांश क्याम्पसका विद्यार्थीले भरिभराउ सो क्याम्पसमा हिजो आइतबार तीन सिफ्टमा परीक्षा सञ्चालन भएको थियो ।  क्याम्पस प्रमुख डा. लक्ष्मण सिंह कुँवरले बिहान ७ देखि ११, ११ देखि दिउँसो १ र दिउँसो १ देखि ४ बजेसम्म गरी ७ सय ५० जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिए ।

उनले बजेट अभावको कारण हेल्थडेक्स राख्न नसकिएको स्वीकार्दै विद्यार्थीको संख्या अत्यधिक भए पनि सफलताका साथ व्यवस्थापन गरिएको दाबी गरे । नेविसंघका अनिल खनाल, तारा शर्मा, अनेरास्ववियु क्रान्तिकारीका सञ्जीव फुँयाल र अनेरास्ववियुका झपीन्द्र खत्रीले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा संक्रमण बढ्न सक्ने खतरा रहेको भन्दै त्रिविले चरम लापरबाही र गल्ती गरेको आरोप लगाए ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले यही २८ गतेसम्मको परीक्षा जारी राख्ने बताउँदै भने–‘जुलुस चलिरहेका छन्, सार्वजनिक यातायात बन्द भएको छैन, रेस्टुरेन्ट खुलिरहेका छन्, तैपनि विगत ढेड वर्षदेखि स्थगित परीक्षा सञ्चालन गर्न अवरोध गर्न थालिएको छ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस