भरतपुरमा स्वास्थ्य केन्द्र निर्माणका लागि वडाअध्यक्षकै आमाले गरिन् जग्गादान

स्वास्थ्य केन्द्र तत्काल निर्माण शुरु गछौं : मेयर दाहाल

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १० : ४५
भरतपुरमा स्वास्थ्य केन्द्र निर्माणका लागि वडाअध्यक्षकै आमाले गरिन् जग्गादान

चितवन । चितवन जिल्लालाई सुगम जिल्ला भनिन्छ, तर यही जिल्लामा अहिले पनि कैंयन यस्ता स्थानहरु छन्, जहां स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका अति आवश्यक वस्तुकै अभाव रहेको छ । वर्षौ पछि जनताले अहिले आ–आफ्नै गाँउठाँउमा जनप्रतिनिधी पाएका छन, जसले गर्दा यि आधारभुत आवश्यकता धेरैथोरै भएपनि पुर्ति हुदैं गएको छ । त्यसमा पनि स्वास्थ्य सेवाको लागि यो जिल्ला त देशभरिमै नमुना नै मानिन्छ ।

तर अहिले पनि चितवनकै कैयन विकट क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नहुदा कतिपय मानिसहरु अकालमै मर्न बाध्य छन । यस्तै चुनौतीका बिच आफ्नै गाँउमा स्थानियहरुलाई सहज स्वास्यथ् उपचारका लागि स्वास्थ्य केन्द्र निर्माणका लागि भरतपुर १३ की नारायणी दवाडीले भरतपुर महानगरलाई जग्गा प्रदान गरेकी छिन् । भरतपुर महानगरपालिका, वडा नम्बर १३ मा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि वडाध्यक्ष प्रकाश दवाडीका आमा नारायणी दवाडीले १ कठ्ठा १५ धुर जग्गा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेकी हुन् ।

नारायणी दवाडीले आफ्नो श्रीमान स्व.खडानन्द दवाडीको स्मृतिमा “खडानन्द दवाडी आधारभुत स्वास्थ्य केन्द्र” निर्माणका लागि उक्त जग्गा प्रदान गरेकी हुन् । चारजना छोराहरु ऋषिकेश, प्रकाश, विश्वराज र युवराज दवाडीको सल्लाहमै उनले उक्त जग्गा प्रदान गरेका हुन् । “ वडा अध्यक्षज्यूकै आमाले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ महानगरलाई निःशुल्क जग्गा उपलब्ध गराएकोमा आभार व्यक्त गर्दछु”, महानगर प्रमुख  रेनु दाहालले भनिन्, “प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने छ ।”

वडाध्यक्ष प्रकाश दुवाडीले सार्वजनिक जग्गा नहुदाँ जनताको सेवाका लागि नै आमाले जग्गादान गरेकामा खुसी व्यक्त गरे ।  उनले भने–‘वडा कार्यालयको भवन थिएन, साढे २ बर्षसम्म वडा कार्यालय भाडामा संचालन हुँदै आएको थियो तर जनप्रतिनिधि कै अग्रसरतामा स्थानिय पदमावती कोईरालाद्धारा वडा कार्यालयका लागि २ कठ्ठा जग्गा प्रदान भएको छ ।’ 

उक्त जग्गामा हाल कार्यालयको पहिलो तल्ला निर्माण सम्पन्न भई सेवा प्रारम्भ भईसकेको छ भने माथिल्लो तल्ला निर्माणाधीन अवस्थामा छ ।
आधारभुत स्वास्थ्य केन्द्र पनि हाल भाडामा लिएर संचालनमा छ । जग्गा प्राप्त भएसंगै आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेट उपलब्ध गराउने  महानगर प्रमुख दाहालले बताईन् ।

जग्गामा छिटोभन्दा छिटो भवन निर्माण गर्ने र आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन गरी सञ्चालन गरिने उनको भनाइ छ। स्वास्थ्यजस्तो संवेदनशील सेवाबाट कोही कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा उपलब्ध गराइएको जग्गादाता नारायणी दवाडीले बताईन्।

प्रतिक्रिया दिनुहोस