आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही हुन्छ : राज्यमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १३ : ३१
आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही हुन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानवीन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टैै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि गराए । 

उनले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानवीन समिति गठन गर्नेछ । छानवीन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’

राज्यमन्त्री श्रेष्ठले जन स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको बताए । बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भिर ध्यनाकर्षण गराए । 

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असिमित अधिकार तत्काल कटौति गर्न सरकारलाई सचेत गराए । उनले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानवीन गरी दोषी उपर तत्काल कारवाही गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस