भीम रावलसँग किन बाँझे रामकुमारी झाँक्री ?

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, ०८ : ५६
भीम रावलसँग किन बाँझे रामकुमारी झाँक्री ?

काठमाडौं । कुनै समय रामकुमारी झाँक्रीलाई भीम रावल सबैभन्दा अडिग र बचनमा पक्का नेता लाग्थे । तर पछिल्ला दिनमा उनै रावलप्रति रामकुमारीको विश्वास टुटेको छ । नवौं महाधिवेशन देखि नै ओली र रावलको समुह फरक थियो । हुनतः त्यस अगाडी पनि ओलीसँग रावल जोडिएका होइनन् । तर नवौं महाधिवेशनमा प्रत्यक्ष दुई खेमा बनाएर चुनाव भिडेका ओली समुह र नेपाल समुहमा रावल नेपाल समुहबाट उठेर सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष जितेका नेता हुन् ।

त्यसपछि एमालेभित्रको अन्तरसंर्घषमा ओली र रावल फरक फरक समुहमा रहेर नै मत राख्थे । २०७४ मंसिर देखि केन्द्र, प्रदेश चुनावमा वाम गठबन्धन बनाउने र क्रमशः पार्टी समेत एकता गर्ने घोषणा एमाले र माओवादीले गरे । बामगठबन्धन बन्यो, चुनाव भयो । चुनावमा गठवन्धनले राम्रै जित निकाले । त्यसपछि एमाले र माओवादीको एकता भयो । शुरुका दिनमा एकता राम्रै गरी टिक्यो पनि । तर जब पार्टीभित्र अन्तरसंघर्ष बल्झियो, फेरि ओली र रावल फरक समुहमा देखा परे ।

ओलीले पार्टी बैठक छल्ने, पार्टीसँग परामर्श विनै सरकार चलाउने, आफ्नो स्वेच्छाचारीता लादन खोज्ने र आफनो गुटको र उनलाई  ‘बा’ भन्ने बाहेक कसैलाई पनि नियुक्ति लगायतका केहीमा पनि स्थान दिएनन् । ओलीको चाकरी गर्ने र पार्टीभित्रै पनि वरिष्ठ नेता माधव नेपाल र अर्का अध्यक्ष प्रचण्डको बदख्याई गर्नेहरुलाई ओलीले छानीछानी पुरस्कृत गर्ने काम गरिरहे । त्यसपछि त प्रष्ट कित्ताबन्दी भयो नेकपामा । ओली पक्ष एकातिर र प्रचण्ड, माधव नेपाल पक्ष अर्कोतिर रहे । ओलीले असम्वैधानिक रुपमा संसद विघटन गर्ने देखि अनैतिक काम एकपछि अर्को दोहोराउँदै लगे ।

ओली तानाशाह भएको रावलले त्यसपछि बताएका थिए । झाँक्रीले त्यसपछि नै रावललाई समातिहाले, यही कुरा ओलीसँग गएर बोल्न सक्नुहुन्छ ? यहाँ एउटा कुरा गर्ने, ओलीसँग पुगेपछि भतक्कै गल्ने हाम्रा नेताहरुको बानीले समुहलाई धोका दिने काम भएको झाँक्रीको आरोप थियो । ‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ? यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’ झाँक्रीले रावलमाथी आक्रोस पोखेका थिए ।

त्यसपछि केन्द्रीय कमिटिको बहुमत सदस्य एकातिर रहेर ओलीलाई अनुशासनको कारवाही सम्म गरेका थिए । ओली त्यसबेला निक्कै कमजोर बनेका थिए । तर जब त्यही बेला सर्वोच्चले गत फागुन २३ मा एमाले र माओवादी केन्द्र बीचको एकता बदर गर्ने गरी निर्णय सुनाईदियो, ओली फेरि शक्तिमा देखिए । कमजोर देखिएका ओलीले फेरि खुसीसाथ आफ्नो संकट टरेको भावमा एमालेभित्र रजगज चलाउने निधो लिए । माधव नेपाल पक्षलाई पेलेर जाने नीति लिए ।

नेकपा हुँदे देखि एमसिसि लगायत पार्टीभित्रको अन्तरसंर्घषमा खरो रुपमा भीम रावल उभिएका थिए । उनले ओलीसँग सम्झौताहिन संर्घष अगाडी बढाउनुपर्ने मत राख्थे । त्यसबेला सम्म रामकुमारी झाँक्रीहरुलाई रावल निक्कै आशालाग्दा र भरपर्दा नेता लागेका थिए । तर जब रावलले गत असार २० गते मध्यरातमा बालुवाटार पुगेर त्यसबेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेटे, त्यसपछि ओलीको अनेक आश्वासनको पुलिन्दाका आधारमा उनी लत्रयाकलुत्रुक भए । एकाएक गरम देखिएका रावल नरम भएर प्रस्तुत हुन थाले । उनले पार्टी एकताको प्रयासका लागि ओली र माधव नेपालले गठन गरेको कार्यदलमा नेपाल समुहको संयोजकको भूमिका निर्वाह गरिरहेका थिए ।

तर कतिपय सन्दर्भमा माधव नेपाललाई समेत पत्तो नदिई उनले नरम निति लिईदिए । अर्थात नेपाल समुहको नेतृत्व गरेर कार्यदलमा रहेपनि उनले ओलीको बोलीसँग लोली मिलाउन थाले । सबैभन्दा बढी ओलीको भक्तिगान उनै रावलले गर्न थाले । त्यही आवेगमा उनले संसदबाट राजीनामाको घोषणा सम्म गरे, फेरि पछि आफैले आफ्ना निकटलार्इ दबाब दिन लगाएको जसरी फिर्ताको नाटक पनि गराए । देखिदा चर्का कुरा गर्ने , क्रान्तिकारी देखिन खोज्नेहरु कति छिटो स्वखलित हुदा रहेछन भन्ने रावलले लिने गरेको नीतिले पुष्टि गरिरहेको थियो ।

रावल अहिले पनि एमालेभित्र ओलीसँग अब जे जस्तो अवस्था भएपनि सेफल्याण्डिङ गरेर मिल्नुपर्ने पक्षमा उभिईरहेका छन् । त्यही कारण माधव नेपाल पक्षको बिहिबारबाट बाठमाडौंमा शुरु भएको केन्द्रीय कमिटि बैठकमा केन्द्रीय सदस्यहरुसँग रावलको भनाभन भएको छ । रावलले पार्टी एकताका लागि प्रयास गरेपनि पछिल्ला दिनमा ओलीको अभिब्यक्तिले वातावरण बिथोलेको बताएका थिए । १० बुँदे सहमति निर्माणका लागि गरेको प्रयास र भएका सहमतिको ब्रिफिङ गरेका रावलले केही समय ओलीको आलोचनामा पनि शब्द खर्चिएका थिए ।

त्यसपछि भने बिहिबारको नेपाल पक्षको केन्द्रीय कमिटि बैठकमै रावलसँग रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा लगायतको नेताहरुको दोहोरी चलिहाल्यो । झाँक्रीले रावलमाथी प्रश्न गदैं भनिन्, ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ रावलसँग रामकुमारी झाँक्रीको केहीबेर भनाभन नै परेको थियो । शुरुमा एकता एकता भन्दै मिल्नुपर्नेमा जोड गर्न थालेपछि रामकुमारी लगायतका नेताहरुले रावलमाथी आक्रोश पोख्न थालेका थिए ।

माधव नेपालको तर्फबाट कार्यदलको संयोजक भएर जाने, अनि ओलीको प्रवक्ता भएर निस्कने भन्दै रावलमाथी रामकुमारी र जगन्नाथ खतिवडाहरु खनिएका थिए । आफ्नो आलोचना भएपछि रावलले केही शब्द ओलीको आलोचनामा खर्चिएका थिए । ओली तानाशाह भएको रावलले त्यसपछि बताएका थिए । झाँक्रीले त्यसपछि नै रावललाई समातिहाले, यही कुरा ओलीसँग गएर बोल्न सक्नुहुन्छ ? यहाँ एउटा कुरा गर्ने, ओलीसँग पुगेपछि भतक्कै गल्ने हाम्रा नेताहरुको बानीले समुहलाई धोका दिने काम भएको झाँक्रीको आरोप थियो ।

 ‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ? यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’ झाँक्रीले रावलमाथी आक्रोस पोखेका थिए । रामकुमारी झाक्री, जगन्नाथ खतिवडा, विजय पौडेल, राजेन्द्र राई, चुडामणि जंगली लगायतका नेताहरुले कार्यदलका सदस्यहरुको भूमिका ठिक नभएको भन्दै आलोचना गरेका थिए । नेपाल समुहको बैठक आज पनि बस्दैछ ।