महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उभिँदा...

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १७ : २५
महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उभिँदा...

काठमाडौँ । कविकुञ्ज भनेर चिनिने महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर हिजोसम्म जीर्ण थियो। देवकोटाको सम्झनाहरू संगालेर उभिएको त्यो घर ढल्ने तरखरमा थियो। जानेहरू आँगनसम्म पुग्थे, भित्र छिर्न डराउँथे। अब त्यो पुरानो देवकोटाको घर संग्रहालयमा परिणत हुनेछ । यतिबेला देवकोटाको पुरानो घर भत्किरहेको छ । काठमाडौँ मैतिदेवीस्थित देवकोटाको घर यतिबेला भत्किरहेको छ । त्यहाँ नयाँ घर बन्नेछ । त्यो घर संग्रहालय हुनेछ । त्यही संग्रहालयमा देवकोटा उभिनेछन् ।  

तीन तलाको पुरानो घरकै स्टायलमा संग्रहालय बन्नेछ । भुइँतलामा देवकोटाले बोलेका, कविता पढेका, भाषण गरेका आवाजहरूका चक्काहरू हालिएका क्यासेटबाट बज्नेछन्। रिलमा उनका तस्बिरका दृश्यहरू घुम्नेछन्। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायका अनुसार देवकोटा बितेकै ६ दशक पुग्यो। उनका स्मृतिहरू र छाडेर गएका महत्वपूर्ण सामान त्यही घरभित्र अस्तव्यस्त थिए। त्यसलाई संग्रहालयमा राखिनेछ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा उनको घरलाई संग्रहालय बनाउने वाचा गरेका थिए ।  पछि सरकारले उनको परिवारबाट दुई करोड ५० लाखमा १२ आना एक दाम रहेको देवकोटाको घरसहितको जग्गाको मोहियानी हक खरिद गर्‍यो।

अब देवकोटाको घर संग्रहालयमा परिणत हुनेछ। नेपाल प्रज्ञा प्रतिष्ठानले घरलाई पुनर्निर्माण गर्ने काम थालिसकेको छ।  हुन त त्यही घरलाई मर्मत गरेर संग्रहालय निर्माण गर्न पो सकिन्छ कि भनेर प्रतिष्ठानले विज्ञसँग सल्लाह पनि गर्‍यो। तर सम्भव हुन सकेन ।  प्रज्ञाले दुरुस्त पुरानै स्वरमा नयाँ भवन निर्माण गर्ने योजना बनायो। अब काम सुरु भइसकेको छ । 

‘एकेडेमीका विभिन्न कार्यक्रममा भाग लिँदा, यहाँबाट तास्कन्द जाँदा, बैठकहरूमा भाग लिँदा बोलेका लेखेका कुरा प्रज्ञाले संकलन गरिरहेको छ। देवकोटा प्रतिपक्षी दलको नेता हुँदा पनि बोलेका थिए। त्यसको भाषण पनि संकलन गरिरहेको छ,’ उपाध्याय भन्छन्। 

पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्री राखिनेछन्। उनले सुत्नका लागि प्रयोग गरेको पलङ, जीवनमा लगाएका कपडा, प्रयोग गरेका भाँडाकुँडा, औजार। दोस्रो तलामा देवकोटाले लेखेका सबै सामग्री रहनेछन्। प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपि पनि त्यहाँ रहनेछन्।

विभिन्न भाषामा लेखिएका थुप्रै पाण्डुलिपिहरूलाई भने विधागत रुपमा छुट्याएर राखिनेछ। देवकोटाले लेख्न केही चिज नपाउँदा चुरोटको खोलमा लेख्थे। केही नभए कोर्ने गर्थे। त्यस्ता सामग्री पनि प्रज्ञाले संकलन गर्ने प्रयास गरिरहेको छ यतिबेला। 

‘साना–ठुटा कागजदेखि ठूलासम्म जे भेटिन्छन्, ती सबै त्यहाँ राखिनेछन्’, उपाध्याय भन्छन्। तेस्रो तलामा भने परामर्श तथा सभाकक्षजस्तो हुुनेछ। जहाँ देवकोटा संग्रहालय भ्रमण गरिसकेपछि स्रष्टा तथा अनुसन्धाताहरूले आपसमा अन्तर्क्रिया गर्न चाहे वा कार्यक्रम गर्न आवश्यक परेमा त्यहाँ गर्न सक्नेछन्। संग्रहालय निर्माणका लागि प्रज्ञा प्रतिष्ठानले ७ करोड ११ लाखको टेण्डर जेबी ठेकेदार कम्पनीलाई दिएको छ। शिलान्यास भएको एक वर्षमा संग्रहालय पूर्ण रुपमा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस