ओली पक्षले माधव नेपाललाई कहिलेसम्म पर्खिन्छन् ?

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १६ : ३३
ओली पक्षले माधव नेपाललाई कहिलेसम्म पर्खिन्छन् ?

काठमाडौं । नेकपा एमालेका केपी ओली पक्षका नेताहरुले माधव नेपाललाई कहिलेसम्म पर्खिने भन्ने प्रश्न गरेका छन् । एमाले स्थायी कमिटी बैठकमा नेताहरुले माधव नेपाल पार्टीमा आउन नखोजेको र उनलाई कहिलेसम्म पर्खिने भन्ने प्रश्न खडा भएको बताएका छन् ।

एमालेको स्थायी कमिटी बैठक चलिरहँदा माधव नेपाल पक्षीय नेताहरुले एक दिन अझै पर्खिन आग्रह गरेपछि एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका थिए ।

यसअघि माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूसँग ओली निकट नेताहरुको छलफल भएको थियो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए । भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए ।

उनका अनुसार बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो । आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खिने अवस्थामा पुगेको ओली पक्षका एक नेताले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस