आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता नेपालले अपराध गर्नुभयो : बादल

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १५ : ३७
आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता नेपालले अपराध गर्नुभयो : बादल

काठमाडौं । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता माधवकुमार नेपाललगायतले अपराध गरेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसको अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्ने । पार्टीका कमरेडले गल्ती गर्नुभएको छैन, अपराध गर्नुभएको छ,” उनले भने ।

उनले सर्वोच्च अदालतको परमादेशले निर्दलीय सरकार बनेको तर्क पनि गरे । “ह्वीप नलाग्ने लोकतन्त्रविरुद्धको व्याख्या,” उनले भने, “त्यो धारालाई मेटाउन संविधान संशोधन गर्न जरुरी छ ।”

महाधिवेशनमार्फत पार्टीको पुनर्निर्माणको प्रक्रिया सुरु गर्न जरुरी रहेकोमा उनले जोड दिए । पार्टीको अन्तरसंघर्ष वर्गसंघर्षमा परिणत भएको उनले बताए ।

पुष्पलालको विचार आज पनि सान्दर्भिक रहेको भन्दै उनले सर्वहारा वर्गको नेतृत्व आवश्यक रहेको बताए । “कम्युनिस्ट पार्टीको नेतृत्वलाई नयाँ ढंगबाट पुनस्र्थापित गर्न जरुरी छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस