‘विकासको गति बढाउन पूर्वाधार पहिलो आवश्यकता’

रासस

बुधबार, ०६ साउन २०७८, २२ : ००
‘विकासको गति बढाउन पूर्वाधार पहिलो आवश्यकता’

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति बढाउन पूर्वाधार पहिलो आवश्यकता भएको बताएका छन् । आज बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले काम गर्नका लागि कर्मचारीलाई अनुकूल वातावरण चाहिने धारणा राखे । 

पौडेलले प्रदेश सरकारले चुस्त काम गर्न कार्यालय व्यवस्थित हुनुपर्नेमा जोड दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधारसँगै यातायातका क्षेत्रमा अन्य महत्वपूर्ण काम गरेको बताए ।

नागरिकलाई सवारीसाधान नवीकरण गर्न वा कर बुझाउन लाम लाग्नुपर्ने प्रथाको सरकारले अन्त्य गरेको दाबी गर्दै पौडेलले अब घरबाटै सवारी नवीकरण गर्न वा अन्य राजस्व दाखिला गर्न सकिने जानकारी दिए । 

उहाँले निर्माण प्रारम्भ गरेको पाँच महिनामै १९ कोठे भवनको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिए । पौडेलले कतिपय विकास योजनामा निर्माण कम्पनीका ढिलासुस्तीका कारण सरकारको आलोचना हुने गरेको उल्लेख गर्दै त्यस्ता कम्पनीलाई कारवाहीको दायरामा ल्याइने बताए । 

सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले विकास निर्माणलाई पहिलो प्राथमिकता दिने बताउँदै सरकार गठन भएको छोटो अवधिमै धेरै काम भएको दाबी गरे । 

यातायात पूर्वाधार निर्देशनालयको कार्यालय भवन तथा प्रयोगशालासमेत रु दुई करोड ४४ लाख १७ हजार कूल लागतमा निर्माण सम्पन्न भएको हो । भवनमा सभाकक्षसहित १९ वटा कोठा रहेको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेवबहादुर भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस