महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र यादवको टिममा भित्रिए जसपाका पाँच सांसद

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १६ : २५
महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र यादवको टिममा भित्रिए जसपाका पाँच सांसद

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका पाँच सांसदले अध्यक्ष महन्थ ठाकुरको साथ छाडेर अर्का अध्यक्ष उपेन्द्र यादवको समूहमा भित्रिएका छन् ।

यसअघि ठाकुर पक्षमा लागेका जसपाका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाजले ठाकुरको साथ छाडेका हुन् । उनीहरु शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा उनीहरु जसपाको ठाकुर पक्षमा लागेका थिए । तर, फागुन २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि उनीहरु यादव पक्षमा भित्रिएका छन् ।

जसपाको ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० सांसदले ठाकुरलाई साथ दिएका थिए भने १२ जनाले यादवलाई साथ दिएका थिए । तर, पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि संसदीय दलमा यादव पक्ष १२ बाट १७ मा पुगेसँगै बहुमत प्राप्त गरेको छ ।

यादव पक्षमा भित्रिएका उनीहरुले ठाकुर समूह लोकतन्त्र विपक्षमा उभिएकाले आफूहरु उक्त समूहमा बस्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस