कांग्रेसमा तीन समूहबाट मन्त्री बन्न दौडधूप !

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १९ : २५
कांग्रेसमा तीन समूहबाट मन्त्री बन्न दौडधूप !

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । कांग्रेसमा मन्त्री छान्ने प्रयास भइरहेको छ। कांग्रेसमा तीन समूह (पौडेल, देउवा, सिटौला) बाट मन्त्रीको लविङमा धेरै आकांक्षीहरु लागिरहेका छन् । 

कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना छ, त्यो पनि माधव नेपाल समूह सरकारमा नगएको खण्डमा मात्र । माधव नेपाल समूह सरकारमा गए काँग्रेस बढीमा पाँच मन्त्रालय लिएर चित्त बुझाउनुपर्ने अवस्था छ । उपेन्द्र यादव पक्षको जसपालाई देउवाले कति मन्त्रालय दिन्छन् त्यो हेर्न बाँकी छ, तर यादव पक्षले ७ मन्त्रालय दावी गर्ने बताइएको छ । 

देउवाले पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन्। दुवै देउवा निकटका नेता हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ भने सिटौला पक्षले पनि ३ मन्त्रालयको दावी गरेको स्रोतको भनाइ छ । 

देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। डा नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ। खड्का पनि देउवा निकट मानिन्छन् ।  

रामचन्द्र पौडेल समूहबाट सुजता कोइरालाले परराष्ट्रमन्त्री दावी गरेकी छन्। पौडेल समूहबाट महामन्त्री डा शशांक कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको दावी गरेका छन्।  डा। मिनेन्द्र रिजाल मन्त्रीको लबिङमा छन् । पौडेल समूहले दिलेन्द्र बडुलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन्। सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी भइरहेको छ । सिटौला समूहबाट गगन थापा पनि मन्त्रीको लाइनमा छन् ।