यातायात व्यवसायीले २१ गतेसम्म कुर्ने

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, २१ : ३०
यातायात व्यवसायीले २१ गतेसम्म कुर्ने

फाइल फोटो

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले २१ गते सम्म सरकारको निर्णयलाई पर्खने भएका छन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतःस्फूर्त रूपमा असार १८ गतेदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको बिहीबार ६३ दिन पुगिसकेको छ ।  २५ सिटभन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा तीनमा कार्यरत मजदुरले आफूहरूको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस