रासायनिक मलको अभाव

रासस

विहीबार, १७ असार २०७८, २० : ४८
रासायनिक मलको अभाव

काठमाडौं । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । 

धान र मकैमा मल हाल्ने बेला हँुदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।

शारदा नगरपालिका–४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका वयवस्थापक यगेन्द्रबहादुर बस्नेतले मल नपाउदा किसानहरु निराश भएर फर्किनुपर्ने बाध्यता रहेको बताए । 

जिल्लाभर करिब ४० हजार बोरा मलको आवश्यकता छ तर जिल्लामा मलको कम आपुर्ति हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो । यसबीचमा त्यसको आधाभन्दा पनि कम मात्रै मल जिल्लामा उपलव्ध भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यानका प्रमुख प्रविनजङ्ग शाहले जानकारी दिए । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुदैँ आएको छ ।