अधिकारीको प्रश्न - गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपति संस्थाको रक्षा कवच हुनु परेन ?

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १७ : ४५
अधिकारीको प्रश्न - गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपति संस्थाको रक्षा कवच हुनु परेन ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिले राष्ट्रपतिको गरिमामा आँच आएको राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीले बताएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतिक भएको र त्यसको रक्षार्थ सम्पूर्ण नेपाली जनता उभिनुपर्नेमा प्रधानमन्त्री ओली मात्रै त्यसमा लागेको अधिकारीको भनाइ थियो । 

राष्ट्रिय सभाको ८ औं अधिवेशनको पहिलो बैठकमा बिहीबार अधिकारीले प्रधानमन्त्री ओलीका कारण राष्ट्रपतिप्रति जनताको धारणा कस्तो छ भन्ने मनन गर्न सुझाव दिए । प्रधानमन्त्रीको कामकारबाही र नीतिका कारण गणतन्त्रको प्रतीक राष्ट्रपतिको गरिमा आम नेपाली नगारिकबीच बढेको छ कि घटेको छ ?,उनको प्रश्न थियो, गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपति संस्थाको रक्षा कवच हुनु परेन ? आज स्थिति के छ सम्बन्धित सबैले मनमनै गुनुन् भन्ने विश्वास छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिनिधिसभाले आफूप्रति जिम्मेवार बनाउन खोज्दा विघटनको प्रहार खेप्नुपरेको अधिकारीको भनाइ थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा ६ महिनाको अन्तरालमा दुई पटक प्रतिनिधिसभा विघटन भएको छ । पहिलोपटक २०७७ पुस ५ र दोस्रो पटक २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । पहिलो विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै २०७७ फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

संसद्प्रति जवाफदेही हुनुपर्ने सरकार कोप्रति जवाफदेही छ भनेर अधिकारीले प्रश्न गरेका छन् । आजको सरकार कोप्रति जवाफदेही छ ? सरकारका कामकारबाहीमा पारदर्शिता कति छ ?, अधिकारीले भने, संविधान निर्माण गर्दा प्रतिनिधिसभा विघटन नगर्ने विभिन्न संवैधानिक प्रावधान हामीले राख्यौं । तर आफूलाई असजिलो परेको ठानेर प्रधानमन्त्रीले विघटन गरेको होइन र ? प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई आफूप्रति जवाफदेही गर्न खोज्दा पटक(पटक विघटनमा पर्नुपरेको स्पष्ट छ ।

राष्ट्रिय सभामा सत्तापक्षका नेता सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान न्यायालयबाट खोज्न नहुने भनेर दिएको अभिव्यक्तिको पनि अधिकारीले जवाफ दिएका थिए । 

प्रतिक्रिया दिनुहोस