उम्मेदवारी मनोनयन

चितवनबाट एक सय चार जनाको उम्मेदवारी

शुक्रबार, १७ कार्तिक २०७४, ०७ : १०
चितवनबाट एक सय चार जनाको उम्मेदवारी

चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि चितवनबाट बिहीबार एक सय चार जनाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको उम्मेदवारी मनोनयन दर्तामा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट छ जना महिलासहित एक सय चार जनाले उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार विभिन्न दलबाट क्षेत्र नम्बर एकमा ३५, दुईमा ३५ र तीनमा ३४ जनाको उम्मेदवारी दिएका छन् ।

जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि १५ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । सवैभन्दा धेरै प्रतिनिधि सभाको क्षेत्र नम्बर तीनबाट आठ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ ।

तीनबाट स्वतन्त्र उम्मेदवारी दिनेमा सुनिलकुमार क्षेत्री, हरिप्रसाद दाहाल, विजयराज घिमिरे, भरत बोहोरा, भगवती प्रसाई, प्रवेश अधिकारी, नन्दुराज आचार्य र टेकप्रसाद बास्तोला रहेका छन् । क्षेत्र नम्बर एकमा लेखबहादुर पुन, श्रीराम कँडेल र सिंहबहादुर गोलेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाको क्षेत्र नम्बर दुईमा केशवप्रसाद अधिकारी, विष्णु पौडेल र हिमनाथ घिमिरेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर दुई (ख) मा निरज शर्मा काफ्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग १८ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दर्ता गराएका दाहालसँग भिड्न नौ वटा दलका र आठ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा आएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावक अमिक शेरचन र समर्थक नेकपा एमाले चितवनका क्षेत्र नम्बर तीनका संयोजक रामजी सापकोटा रहेका छन् ।

प्रचण्डसँग प्रतिस्पर्धा गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे, विवेकशील साझा पार्टीका शरदराज पाठक, संघीय समाजवादी फोरम नेपालका अजयकुमार हजाम, राष्ट्रिय जनमोर्चाकी उमादेवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) का कृष्णबहादुर तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाका टंकप्रसाद बास्तोला र आठ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर तीन अन्तर्गत प्रदेशतर्फको क बाट आठ जना र ख बाट आठ जनाले उम्मेदवारी दिएका छन् । वाम गठबन्धनबाट प्रतिनिधि सभाको क्षेत्र नम्बर तीन (क) मा कृष्ण भुर्तेल र (ख) मा रामलाल महतोले उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर तीन अन्तर्गत प्रदेश (क) मा दिनेश कोइराला र (ख) मा साजनकुमार महत्तो उम्मेदवार रहेका छन् ।
वाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नम्बर एकमा एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । पाण्डेसँग १५ जना चुनावी मैदानमा प्रतिस्पर्धामा होमिएका छन् ।

पाण्डेसँग लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बुर्लाकोटी, राष्ट्रिय जनता पार्टी नेपालका अर्जुनप्रसाद बर्तौला, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का इन्द्रजित धमला, राष्ट्रिय जनमोर्चाका इन्द्रप्रसाद पाध्या पौडेल, नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाका घननाथ सापकोटा, नयाँ शक्ति पार्टीका जनार्दन दुवाडी लगायतका उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
वाम गठबन्धनबाटै प्रदेशतर्फ चितवन क्षेत्र नम्बर एक (क) मा दावा दोर्जे लामा र (ख) मा कृष्ण खनालको उम्मेदवारी परेको छ । त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेशतर्फ एक (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आचार्य उम्मेदवार रहेका छन् । प्रदेशतर्फ क्षेत्र नम्बर एक क मा दस र  ख मा पनि दस जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर दुईमा तीन जना स्वतन्त्रसहित १५ जना चुनावी मैदानमा उत्रिएका छन् । वाम गठबन्धनबाट कृष्णभक्त पोख्रेल र लोकतान्त्रिक गठबन्धनबाट शेषनाथ अधिकारी उम्मेदवार बनेका छन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अम्मर केसी क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीका खिमबहादुर थापा, संघीय समाजवादी फोरमका गणेश गिरी, देशभक्त जनतान्त्रिक मोर्चाका तिवेन्द्र चापागाई, विवेकशील साझा पार्टीका भुपेन्द्रराज बस्नेत, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद पौडेल लगायतको उम्मेदवारी परेको छ ।

प्रदेशतर्फ क्षेत्र नम्बर दुई क मा नौ जना र  ख मा ११ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ । वाम गठबन्धनबाट प्रदेशतर्फ दुई क मा घनश्याम दाहाल र लोकतान्त्रिक गठबन्धनबाट जीतनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । दुई ख मा वाम गठबन्धनबाट विजय सुवेदी र लोतान्त्रिक गठबन्धनबाट प्रकाश अधिकारीको उम्मेदवारी परेको छ ।

कूल एक सय चार जनाको उम्मेदवारी परेकोमा जम्मा छ जना महिलालेमात्र उम्मेदवारी दिएका छन् । साना दलबाट र स्वतन्त्ररुपमा महिलाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधि सभाको क्षेत्र नम्बर तीनमा उमादेवी शर्मा र नयाँ शक्ति पार्टीबाट मक्कुमाया गुरुङले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर दुईमा राष्ट्रिय जनता पार्टीकी रिता चौधरी र प्रदेशतर्फ दुई ख मा नेकपा मालेबाट सरस्वती शर्मा पौडेलले उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ क्षेत्र नम्बर एक क बाट नयाँ शक्ति पार्टीकी भवानीदेवी घिमिरेले उम्मेदवारी दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस