चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

पत्रपत्रिकाबाट

विहीबार, १७ असार २०७८, ०७ : ५९
चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

काठमाडौं ।  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो ।

विभागले गत वैशाख पहिलो साता नै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने निर्णय गरेर त्यसअनुसार तयारी गरे पनि निषेधाज्ञाका कारण जेठबाट उक्त व्यवस्था लागू गर्न सकेको थिएन । ‘चालकको सहजताका लागि ऐनअनुसार प्रयोगात्मक लाइसेन्स दिन लागेका हौं,’ विभागका महानिर्देशक नवराज घिमिरेले बताए । 

उनका अनुसार परीक्षणकालीन लाइसेन्सको अवधि १ वर्ष हुनेमा यस अवधिमा पाँचपटकसम्म कारबाहीमा परे फेरि शुरूदेखि परीक्षा दिनुपर्ने हुन्छ । परीक्षणकालीन लाइसेन्स नक्कली नबनोस् भनेर यसमा क्यूआर कोर्ड राखिएको छ । त्यसलाई सजिलै ट्राफिकले जाँच गर्न सक्नेछन् । आर्थिक अभियान दैनिकमा खबर छ ।