जोखिमयुक्त कम्पनीको नाम बाहिरिएपछि ५२ अंक घट्यो नेप्से

पत्रपत्रिकाबाट

विहीबार, ०३ असार २०७८, ०६ : ५७
जोखिमयुक्त कम्पनीको नाम बाहिरिएपछि ५२ अंक घट्यो नेप्से

काठमाडौँ । सेयर बजारमा बुधबार करिब साढे ५२ अंकको गिरावट आएको छ । यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ९ सय ६९.६९ बिन्दुमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा यो १.७३ प्रतिशत घटेको हो । 

नियामक निकाय धितोपत्र बोर्डले मंगलबार चार दर्जनभन्दा बढी (५१ वटा) जोखिमयुक्त कम्पनीको नामवाली सार्वजनिक गरेको छ । कम्पनीको अवस्था राम्रो नभएका तर सेयरमा अस्वाभाविक मूल्य वृद्धि भएको तथ्यका आधारमा बोर्डले मंगलबार ती जोखिमयुक्त कम्पनीको नामावली सार्वजनिक गरेको थियो । तीमध्ये ४९ वटा कम्पनीको सेयर मूल्य बुधबार घटेको छ । सो दिन कारोबारमा आएकामध्ये लघुवित्तबाहेक सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

बुधबार करिब १ लाख ६८ हजार कारोबारबाट २ सय १९ कम्पनीका २ करोड ८२ लाख ८९ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि कम हो ।

मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक घटेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३९ खर्ब ९० अर्ब रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन कुल बजार पुँजीकरण ४१ खर्ब ७२ अर्ब रुपैयाँ थियो । बुधबार दोस्रो बजारमा भएको कुल कारोबारमध्ये सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनी र त्यसपछि हिमालयन डिस्टिलरीको रहेको तथ्यांकमा देखिन्छ । सो दिन नेपाल पुनर्बिमाको करिब ६१ करोड र हिमालयन डिस्टिलरीको करिब साढे ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस